तीन तहको सुरक्षाकर्मी परिचालित: एसपी ओली

पिपरी–कोहलपुर चौराहसम्म टू लेन बन्द


तीन तहको सुरक्षाकर्मी परिचालित: एसपी ओली

नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नम्बर–६ को उपनिर्वाचनका लागि आज विहान ७ बजेदेखि मतदान सुरु हुदैछ । जनताको मताधिकारलाई सुरक्षित बनाउन र आफ्नो जनप्रतिनिधि छान्ने अधिकारको रक्षा गर्न सरकारका निकाय तथा राजनीतिक दल र सरोकारवाला लागिपरेका छन् ।

व्यवस्थित मतदान र जनताको सुरक्षाका निम्ति उच्च सर्तकताका साथ बाँके प्रशासनले तीन तहमा सुरक्षाकर्मी परिचालन गरेको छ । स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गर्दै बाँकेको कोहलपुर क्षेत्रको सुरक्षाका लागि दुई सय बढी सुरक्षाकर्मी खटाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएकाछन् ।

उनले भने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर कोहलपुर वडा नम्बर–६ मा र वडा नम्बर–५ मा नेपाल प्रहरीको अस्थायी सुरक्षा शिविर राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको कडा निगरानी भइरहेकोछ ।’

‘उपनिर्वाचनलाई लक्षित गर्दै ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ, सम्भावित हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुई डिएसपीको नेतृत्वमा २४ घण्टा निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाइएकोछ । कोहलपुरको सुरक्षा प्रहरीको निगरानीमा छ ।’

बाँके प्रहरी प्रमुख ओलीले भने–‘मतदान स्थल, मतपत्र, पतपेटिका, उम्मेदवार, उम्मेदवारको घर सवैको सुरक्षाका लागि हतियारसहित सुरक्षाकर्मी तैनाथ गरेकाछौं । आवश्यक परेमा थप सुरक्षाकर्मीलाई स्टाण्डबाइ राखेकाछौं ।’

उपनिर्वाचनलाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गर्न कोहलपुरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिहंको कमाण्डमा जिल्लाको टोली खटाएकाछौं, त्यस्तै कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको कमाण्डले सुरक्षा दिइरहेकोछ ।’

‘उपनिर्वाचनको सुरक्षाका लागि हतियारसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले निर्वाचन क्षेत्रभित्र अहिले पैदल तथा गाडी दुवैको माध्यमबाट गस्ती बढाएर २४ सैं घण्टा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएकोछ ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशभर उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेकाले सुरक्षा निकायहरुले विप्लव समुहलाई नै मुख्य सुरक्षा चुनौती ठानेका छन् । तर, बाँके प्रहरी प्रमुख ओलीका अनुसार कोहलपुरमा त्यस्तो सुरक्षा चुनौती नदेखिएको भएपनि तीनै तहका सुरक्षाकर्मी चुस्तदुरुस्तरुपमा रहेकाले आचारसंहिता उल्लंघन गर्ने, निर्वाचन विरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल निस्तेज पारिनेछ ।
सुरक्षा व्यवस्था नियन्त्रणभन्दा बाहिर नजाने बाँके प्रहरी प्रमुख ओलीले विश्वास दिलाए । उनले भने–‘निर्वाचनस्थल र आसपासका क्षेत्रमा २४ सैं घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गरिरहेकाछन् ।’

कोहलपुर नगरपालिका वडा नम्बर ६,को उपनिर्वाचनलाई लिएर प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डको टु लेन बन्द गरेकोछ । शनिबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म उक्त लेन बन्द गरिएको हो ।

चारलेनको नेपालगन्ज–कोहलपुर सडकखण्डको पिपरीदेखि कोहलपुर चौराहसम्मको पश्चिमतर्फको टु लेन पूर्णरुपमा बन्द गरिने प्रहरी उपरीक्षक ओलीले बताए।

उनका अनुसार–‘पिपरीदेखि कोहलपुर चौरासम्मको सडकखण्डमा गुड्ने सवारी साधनलाई डाईभर्सन गरिनेछ । पिपरीचोकबाट पूर्वपट्टिको लेनबाट कोहलपुर र कोहलपुर चौराहदेखि पूर्वपट्टिको लेनबाट पिपरीसम्म सवारीसाधनलाई डाइभर्सन गरिनेछ । मतदान अवधिभर ट्रफिक व्यवस्थापन गर्दै सुरक्षा सर्तकताका लागि यस्तो गरिएको उनले बताए ।

उपनिर्वाचनलाई लक्षित गर्दै मतदान अवधिभर उपनिर्वाचन हुने कोहलपुर वडा नम्बर ६ का सवै नाकाहरुमा सवारीसाधन चलाउन रोक लगाइएकोछ ।

रत्नराजमार्ग (नेपालगन्ज–कोहलपुर सडकखण्ड), महेन्द्रराजमार्गमा गुड्ने सबै सवारी निर्वाधरुपमा गुड्न पाउँनेछन् । तर, उपनिर्वाचन हुने कोहलपुर नगरपालिका वडा नम्बर–६ मा प्रवेश र सवारीसाधन चलाउन रोक लगाइएकोछ ।

उपनिर्वाचन क्षेत्रभित्र अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन । भने नेपाल–भारत बर्डर बन्द गरिएको छैन ।

यसैबीच, उपनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन विरोधी गतिविधि गरेको आशंकामा बुधबार र विहीबारमा १० जनालाई नियन्त्रणमा लिएर २४ घण्टापछि छाडिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

आज हुने उपनिर्वाचनलाई विथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशंकाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए ।

‘कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौं । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौं,’ उनले भने, ‘निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौं । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समुह तथा व्यक्तिहरु प्रहरीको उच्च निगरानीमा छन् ।’

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्युरो सदस्य कोहलपुर–६ का भुपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजबिक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगन्ज–१० का सुरेश ओली, विद्यार्थी नेता हृदेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नम्बर–६ का तारा बिक, बर्दिया बाँसगढी नगरपालिका–९ का धिरेन्द्र सिंह र ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का बिपिन रोकाय रहेका छन् ।

यस्तै आज हुने उपनिर्वाचनलाई मध्यनजर राख्दै नेपाली सेनाले कोहलपुरमा शुक्रबार बेलुकादेखि गस्ती गरिरहेकोछ । निर्वाचन सुरक्षा रणनीति अनुसार गस्ती सुरु गरेको सेनाले निर्वाचन नसकिएसम्म दिन तथा रातीको समयमा उच्च सर्तकताका साथ गस्ती गर्नेछ । सेनाले गस्तीसँगै उम्मेदवारहरूको सुरक्षामा पनि सुक्ष्म निगरानी बढाएको सैनिक स्रोतले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरीले पनि सुरक्षा सर्तकता अपनाएकोछ । सशस्त्र प्रहरीको टोलीले यतिवेला उपनिर्वाचन स्थलमा हतियारसहित कडा निगरानी बढाएको हो । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएकोछ ।

निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था कडा गरिएको छ । योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ ।