यस्तो छ मतदाता विवरण

कोहलपुर–६ मा उपनिर्वाचन


यस्तो छ मतदाता विवरण

फाईल फोटो

नेपालगन्ज : जिल्लामा एक मात्र उपनिर्वाचन हुने भएपछि यसको सर्वत्र चासो बढेकोछ । गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९ सय ६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारुले जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए ।

२०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन् लागेको हो । सो वडाबाट तत्कालिन नेकपा एमालेका उम्मेद्वार श्रीराम थारुले ३ सय ५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २ सय ७३ मत प्राप्त गरेका थिए ।

पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दावी छ । अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मतमा समेटिएका थिए ।

नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको जीत सुनिश्चित रहेको दाविछ । तत्कालिन मधेसी जनअधिकार फोरमका उम्मेद्वार अहिले काँग्रेसमा प्रवेश गरिसकेकाछन् । भने, तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बनेका श्रीराम थारुका भाई श्रीकृष्ण थारु अहिले काँग्रेस पार्टीबाट उम्मेद्वार बनेका छन् ।

यस्तै तत्कालिन मधेसी जनअधिकार फोरमबाट मेयरको उम्मेद्वार बनेका फुलाराम थारुले गत निर्वाचनमा वडा नम्बर–६, बाट १ सय १४ मत प्राप्त गरेका थिए । फुलाराम र रामसोहनले ल्याएको कुल ५ सय ३८ मत छ ।

यो तथ्यांक अनुसार नेकपा र काँग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकोले काँग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ । सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् ।