नेपालगन्ज :समुदाय स्तरमा मानव अधिकारका सवाललाई पहिचान गरि उक्त सवालमा स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउन पहल थालिएको छ ।
समुदाय स्तरमा रहेका मानव अधिकार सम्वन्धी विभिन्न सवालको पहिचान गरि पिडितका समस्या समाधान गर्न बाँकेको डुडुवा गाउँपालिकामा हिंसा निगरानी समुह निमार्ण गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा गाउँपालिकास्तरिय निगरानी समुह गठन गरिएको हो ।
नेपालगन्जमा आईतबार आयोजित एक कार्यक्रमकाविच कार्यपालिका सदस्य लिलावती यादवको संयोजकत्वमा २५ सदस्यीय समुह निमार्ण भएको छ । समुहको सहसंयोजक स्थानीय अगुवा मिनबहादुर थापा, सचिवमा युवा उदयराज जायसवाल चयन भएका छन् ।
गठित समूहले गाउँपालिका अन्र्तगत मानव अधिकारसंग सम्वन्धित विभिन्न सवालहरुको खोजी गर्ने, पहिचान गर्ने, घटना दर्ता गर्ने, घटनाको प्रकृति छुट्टायाउने, बैठक बसेर छलफल गर्ने र घटना र सवालको प्रकृति अनुसार कानूनी प्रक्रियाका लागि स्थानीय तहमा पठाउने तथा आवश्यक परामर्शका लागि सहजीकरण गर्नेछ ।
कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले यो कार्यक्रम गाउँपालिकाका लागि निकै राम्रो भएकाले नागरिकको मानव अधिकारको अवस्थामा सुधार आउने विश्वास ब्यक्त गरिन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, पालिका सदस्य रिता परियार, संस्थाका अध्यक्ष विश्वजीत तिवारी, तेस्रोलिंगी नन्कई बर्मा लगायतले विचार राखेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना बारे जानकारी गराएका थिए । भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले हिंसा निगरानी समुहको काम कर्तव्य अधिकार र अन्य गतिबिधीहरुका बारेमा जानकारी गराएका थिए ।
संस्थाले बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकालाई मानव अधिकार मैत्री नमूना गाउँपालिका बनाउन स्थानीय तहमा मानव अधिकार प्रबद्र्धन तथा कार्यान्वयन परियोजना शुरु गरेकोछ ।