३२ औं विश्व एड्स दिवस
नेपालगन्ज : एड्सबारे जनचेतना फैलाउने दुईजनालाई सम्मान गरिएकोछ । ३२ औं विश्व एड्स दिवसका अवसरमा एड्सबारे जनचेतना फैलाउन महत्वपुर्ण योगदान पु¥याउएको भन्दै भेरी अस्पतालका एचआईभि र एड्स फोकल पर्सन डाक्टर संकेत रिसाल तथा स्वास्थ्यकर्मी जयकला विकलाई सम्मान गरिएको छ ।
‘एचआइभिको नियन्त्रणमा समुदायको प्रभावकारी भूमीका’ भन्ने नाराका साथ आईतबार नेपालगन्जमा भएको ३२ औँ विश्व एड्स दिवसमा उनीहरुलाई सम्मान गरिएको हो ।
दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, लागुपदार्थ दूव्र्यसन विरुद्धका अभियान्ता, एचआईभि र एड्सको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय लगायतको आयोजनामा विविध कार्यक्रम गरि मनाइएकोछ ।
विश्व एड्स दिवसको अवसरमा आईतबार विहान नेपालगन्जमा प्रभातफेरीको आयोजना गरि नगर परिक्रमा समेत गरिएकोछ । नगरपरिक्रमा पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले सरकारले सन् २०२१ सम्ममा एड्स नियन्त्रणका लागी रणनिति लिएकोले यसलाई पुरा गर्न सरोकारवालाले साथ दिनुपर्नेमा जोड दिईन ।
यस्तै कोण सभालाई सम्बोनध गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगतबहादुर शाहीले बाँकेमा एचआईभिलाई शून्यमा लैजान सवैलाई सघाउन आग्रह गरे ।
दिवसको अवसरमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्नुका साथै एड्सबारे हाजिरीजवाफ समेत गरिएको लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीले जानकारी दिए ।
यसैबीच, दिवसको अवसरमा बाँकेका एचआईभी संक्रमित २० जना बालबालिकाहरुलाई न्यानो पोशाक (ज्याकेट) र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाल सिआरएस कम्पनी बाँकेको सहयोग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना र जुनकिरी महिला समुहको समन्वयमा उक्त पोशाक वितरण गरिएको हो ।
चिसोको मौसममा बालबालिकाहरुलाई विद्यालय जान सहजताका लागि पोशाक र अन्य शैक्षिक सामाग्री वितरण गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगद शाहीले जानकारी दिए ।