‘कम्युनिटी साइरन’
नेपालगन्ज : बढ्दो चोरी घटनाबाट आक्रान्त भएको बाँके प्रहरीले नेपालगन्जमा ‘चोरको घण्टी’ बजाउने योजना अघि सारेकोछ । चोरी घटना न्यूनिकरणका लागि बाँके प्रहरीले नयाँ योजना अघि सार्दै नेपालगन्जमा ‘चोरको घण्टी’ अर्थात ‘कम्युनिटी साईरन’ जडान गर्नेछ ।
चोरी घटनाबाट आक्रान्त बनेका नेपालगन्जबासीलाई चोरको घण्टीले राहत दिने बाँके प्रहरीले निश्र्कष निकालेको हो । ४०/५० घरलाई समेटेर ठाउँ–ठाउँमा कम्युनिटी साइरन जडान गर्न सकेमा चोरी नियन्त्रण हुने भन्दै प्रहरीले यस्तो योजना अघि सारेको हो । बाँके प्रहरीले नेपालगन्जका २३ वटै वडाका प्रमुखहरुलाई एकै ठाउँमा राखेर यस विषयमा छलफल समेत गरिसकेको छ ।
कम्युनिट साइरन डिभाइसमा राखिने सिम कार्डसँग सदस्यहरूको मोबाइल वा ल्याण्डलाइन फोन निश्चित ‘कोड नम्बर’ दिएर जोडिन्छ । त्यो कोडसँगै सदस्यहरूको नाम, ठेगाना तथा टेलिफोन नम्बर पनि सिस्टममा राखिएको हुन्छ । समस्यामा परेका सदस्यले आफ्नो फोनबाट सो नम्बर डायल गरेपछि टोल र प्रहरीकहाँ राखिएको लाउड स्पीकर सहितको साइरन बज्छ । साइरनसँगै सबै सदस्यको मोबाइलमा बोलाउनेको नाम, फोन नम्बर र ठेगाना सहितको सन्देश पुग्छ । अनि, चोरलाई पक्राउ गर्न सकिन्छ । साइरन बजेपछि टोलभरीकै मान्छे बाटोमा निस्किन्छन् । चोर भाग्न पाउँदैन । यसमा ४० घण्टासम्म धान्ने ‘ब्याकअप व्याट्री’ जडान गरिएकाले लोडसेडिङले समस्या पार्दैन ।
विकसित मुलुकमा दुई प्रकारका साइरन जडान हुन्छन्– होम र कम्युनिटी साइरन । कम्युनिटी साइरन काठमाडौं उपत्यका, पोखरा, भैरहवा, विराटनगर, वीरगञ्ज लगायत देशभरका एक हजार बढी ठाउँमा जडान गरिएको छ । नेपालगन्जमा पनि कम्युनिटी साइरन जडान गर्ने बित्तिकै सानाठूला चोरी नियन्त्रणमा आउने प्रहरीले विश्वास गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले चोरी नियन्त्रणका लागि कम्युनिटी साइरन जडानबारेमा छलफल चलाइरहेको बताए । उनले भने नुवाकोटका राम–लक्ष्मण दाजुभाईले यसबारेमा सहजीकरण गरेका थिए ।
नुवाकोटका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (३०) ले ‘कम्युनिटी साइरन’ आविष्कार गरेका हुन् । कम्युनिटी साइरन राख्दा एक जनालाई दुई हजारसम्मको आर्थिक भार पर्छ ।
यस्तै बाँके प्रहरीले नेपाली वैज्ञानिक रामलक्ष्मणद्वारा नेपाली परिवेश सुहाउँदो बनाएको ‘ग्लोबल पोजिशनिङ सिस्टम’ जीपीएस सिस्टम जडानको अवधारणा पनि अघि सारेको छ ।
जीपीएस सिस्टम अर्थात गाडी टूयाकिङ गर्ने बित्तिकै त्यो गाडी कहाँ छ भन्ने पत्ता लाग्छ । यसो गर्दा दुर्घटनापछि गाडी नम्बर पत्ता नलाग्ने समस्या समाधान हुने प्रहरी बताँउछ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले भने–आठ हजारजति खर्च गर्दा गाडीमा ट्रयाकिङ गर्न सकिन्छ । कुनै अभिभावकले आफ्नो छोराछोरी कहाँ जान्छन् भन्ने थाहा पाउन पनि गाडीमा ट्रयाकिङ गर्न सक्छन् । जस्तो, काठमाडौंमा प्रहरीले गुण्डा नाइकेलाई ट्रयाकिङ गरेको थियो । यसो गर्दा ऊ कहाँ जान्छ, कसलाई भेट्छ सबै थाहा हुन्छ ।
यातायात समितिका पदाधिकारीहरुलाई यसबारेमा छलफल चलाएको बताउँदै बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले भने–कम्युनिटी साइरन र गाडीमा ट्रयाकिङ सिस्टम गराउन सकेमा चोरीलगायतका अपराध र दुर्घटनापछि गाडी नम्बर थाहा नपाएर हुने अन्यौलता हट्नेछ ।
डीएसपी सिंहले भने ‘यस विषयमा जनप्रतिनिधि, यातायात व्यवसायीहरु सकारात्मक हुनुहुन्छ । दुवै काम हुन्छ भन्नेमा म विश्वस्त छु । यी दुई काम हुँदा प्रहरीलाई मात्र होइन सर्वसाधरणलाई समेत धेरै राहत हुन्छ ।’