एकवर्षपछि राडर उद्घाटन


एकवर्षपछि राडर उद्घाटन

File Photo

नेपालगन्ज : मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ । एकवर्ष अघि जडान गरिएको उक्त राडरको औपचारिक उद्घाटन गरिएको हो ।

सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा मन्त्री पुनले पूर्वसूचना प्रणालीले नागरिकको सुरक्षामा महत्वपूर्ण सहयोग गर्ने बताए । मौसमअनुसार जोखिमको सम्भावना पुग्न सक्ने क्षतिका बारेमा जानकारी लिन राडारले दिने भएकाले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । मन्त्री पुनले राडारले दिने सूचना हरेक नागरिकसम्म पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

‘पहिले मानिसहरू आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो,’ उनले भने, ‘बरु यसले दिने सूचनाहरू जनताको कानसम्म सहजै पुग्ने वातावरण मिलाउनु जरूरी छ ।’

२०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्यौलका कारण सञ्चालनमा आउन सकेको थिएन । यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सिइसी)ले संकलन गर्दै आएको थियो । सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया चलेको छ ।

अब सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिनेछ । संकलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्नेछ ।

के हो राडार ?
राडार मौसमसम्बन्धी जानकारी दिने विद्युतीय प्रणाली हो । सुर्खेतमा जडान गरिएको राडारको क्षमता चार सय किलोमिटर वरपरसम्मको मौसमको बारेमा जानकारी दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणालीमध्येको सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार विभिन्न चरणमा जडान गर्नेगरी गरिएको प्रस्तावअनुसार पहिलो चरणको सुर्खेतको रातानाङ्लामा जडान भैसकेको छ ।

दोस्रो चरण पाल्पाको रिब्दीकोट र तेस्रो चरणमा उदयपुरको उदयपुरगढीमा राडार जडान गर्ने तयारी छ । विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडारले कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ ।

राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ ।