१७ वर्षदेखि वेवारिस प्रशिक्षण केन्द्र सञ्चालनमा


१७ वर्षदेखि वेवारिस प्रशिक्षण केन्द्र सञ्चालनमा

File Photo

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र १७ वर्षपछि सञ्चालनमा आएकोछ । सरकारी उदासिनताका कारण उक्त केन्द्र लामो समयदेखि प्रयोगमा आउन नसकेको हो ।

शत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताए ।

साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिने उद्देश्यले वि.सं. २०२३ सालमा स्थापना भएको उक्त प्रशिक्षण केन्द्र सशस्त्र द्वन्द्वका बखत असुरक्षाका कारण देखाउँदै २०५८ सालमा बन्द भएको थियो ।

चौधरीका अनुसार प्रदेश सरकारले बजेट व्यवस्थापन गरेपछि जीर्ण बनेका भौतिक संरचनालाई अहिले मर्मतसम्भार गरिएको छ । ‘मुख्यमन्त्रीज्यूले चासो देखाएर बजेटको व्यवस्थापन गरेकै कारण प्रशिक्षण केन्द्र सञ्चालनमा आएर नयाँ जीवन पाएको छ,’ निमित्त निर्देशक चौधरीले भने, ‘मुख्यमन्त्री कार्यालयका सचिवज्यूहरुले समेत अवलोकन गरी आवश्यक सल्लाह, सुझाव र निर्देशन दिएका छन् ।’ एसी जडित सभाहल तयार भएसँगै सरकारी कर्मचारीलाई तालिम दिन शुरु भएको छ ।

प्रदेश सरकारले प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि भवनहरु जीर्णोद्धार गर्न ५५ लाख उपलब्ध गराएको निमित्त निर्देशक चौधरीले बताए ।

उक्त रकमले सभाहल, कक्षाकोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जीर्णोद्धार गर्ने काम यतिबेला अन्तिम चरणमा पुगेको छ ।
प्रशिक्षण केन्द्रमा सुविधासम्पन्न ३५ वटा भवन छन् । तर, लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेको थियो । जीर्णोद्धार गर्न मिल्नेलाई जीर्णोद्धार गर्ने र नमिल्नेलाई भत्काएर नयाँ बनाउने योजना रहेको चौधरी बताउँछन् ।

ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा चहलपहल बढेको छ । वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्राले आफू निर्वाचित भएलगत्तै प्रशिक्षण केन्द्र सञ्चालनका लागि पहल गरेको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । ‘हाम्रो वडामा यतिठूलो सरकारी प्रशिक्षण केन्द्र सञ्चालमा आउनु खुशीको कुरा हो,’ वडाध्यक्ष मिश्राले भने, ‘यसले हाम्रो वडालाई चिनाएको छ, वडास्तरबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि हामी तयार रहेका छौँ ।’

भौतिक पूर्वाधारले सम्पन्न यो केन्द्रमा एक सभागृह, तीन कोठे दुईवटा कक्षा भवन, तीनवटा अनुसन्धान भवन, १२ कोठे प्रशासनिक भवन, एउटा कृषि कार्यशाला भवन, चार कोठे एउटा कृषि कक्षा भवन लगायतका भौतिक पूर्वाधार रहेको अध्यक्ष मिश्रा बताउँछन् ।