बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुचारु


बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुचारु

कोहलपुर: भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुचारु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि निकुञ्जमा सफारी सुचारु गरिएको हो ।

दुई वर्ष पहिले नै जङ्गल सफारी खुल्ला गरिएको भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्राउन नसक्दा बन्दजस्तै रहेको जङ्गल सफारी सुचारु गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले बताए ।

जङ्गल सफारी सुचारु भएको सन्देश दिनका लागि बुधबार संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको टोलीले जङ्गल सफारिको आनन्द लिदै निकुञ्ज अवलोकन समेत गरे ।

बाँके निर्वाचन क्षेत्र नम्बर–१, का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ को नेतृत्वमा संविधानसभा सदस्य देवराज भार, पाँच नम्बर प्रदेश सांसद कृष्णा के.सी ‘नमुना’, उषा पुन, कोहलपुर नगरपालिकाका कार्यवहाक प्रमुख सञ्जुकुमारी चौधरी, राप्तीसोनारी गाँउपालिकाका प्रमुख लाहुराम थारु, भ्रमण वर्ष २०२० प्रदेश नम्बर ५ सदस्य कृष्ण चौधरी लगायतको टोलीले निकुञ्जभित्र सफारी गरेको हो ।

संघीय सांसद अथकको विशेष पहलमा पहिलो पटक निकुञ्जमा भिआईपी जङ्गल सफारी गरिएको गाभर भ्याली सामुदायीक होमस्टेका अध्यक्ष तथा भ्रमण वर्ष २०२० प्रदेश नम्बर ५ का सदस्य कृष्ण चौधरीले बताए ।

सांसद सहितको टोलीले गाभरदेखि बुचापुरसम्मको ३० किलोमिटर क्षेत्रमा जङ्गल सफारी गरेको थियो । उक्त टोलीले बुचापुरमा हात्ती सफारी समेत गरेको हो ।

जङ्गल सफारी पछि बोल्दै संघीय सांसद गहतराजले ईको, धार्मिक तथा साँस्कृतीक पर्यटनमा बाँके जिल्लाको भविश्य उज्वल रहेको बताउँदै यसको प्रबद्र्धन तथा विकासमा आवश्यक पहल गर्ने बताए ।

पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज नयाँ तथा रोचक गन्तव्य बन्न सक्ने उल्लेख गर्दै सांसद अथकले भ्रमण वर्ष २०२० मा बढिभन्दा बढि पर्यटक भित्र्याउने गरी गतिविधि बढाउनु पर्नेमा जोड दिए ।

५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको बाँके राष्ट्रिय निकुञ्जमा हात्ति सफारीको ब्यवस्था समेत मिलाईएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वि.सं २०६७ आषाढ २८ गते स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा हात्ती ल्याएर सफारी सुरु गरिएको भट्टराईले बताए । बाँके, दाङ र सल्यानसम्म फैलिएको बाँके निकुञ्जमा बाघको सँख्या २२ पुगेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरीएको छ ।