योजना कार्यान्वयनमा उपमहानगरको कडाई


योजना कार्यान्वयनमा उपमहानगरको कडाई

नेपालगन्ज :नेपालगन्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको कार्यान्वयनका लागि सक्रियता बढाएको छ । आगामी चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रियता बढाइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल भने–‘चालु आर्थिकवर्षमा वडा स्तरीय योजना, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, प्रदेश र संघीय योजनाहरु कार्यान्वयनमा रहेका छन् ।’

समयभित्रै सम्पूर्ण योजनाहरु गुणस्तरीय ढंगले निर्माण सम्पन्न गर्नका लागि उपमहानगरपालिकाले बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेलको नेतृत्वमा अनुगमन समिति समेत निमार्ण गरि वडामा खटाएको छ ।

यसअघि अनुगमन समितिले वडा नम्बर १,४,५,६,१८ र २० नम्बर वडा कार्यालयमा पुगेर योजनाको कार्यान्वयन चरणको बारेमा जानकारी लिईसकेको छ ।

अनुगमन टोलीले केही दिनभित्रै सम्पूर्ण वडामा पुगेर निर्माण अवस्थाबारे जानकारी लिनेछ । अनुगमनका क्रममा योजनाको हालको अवस्था, योजना सञ्चालनमा आईपरेका समस्याको सहजिकरण पनि टोलीले गरिरहेकोछ ।

यस्तै भौतिक संरचना निर्माण सम्बन्धि भएगरेका योजनाको शिघ्र कार्यान्वयनका लागि ओभरसियरलाई समेत वडा कार्यालयमा खटाएको छ ।
ओभरसियर र प्राविधिकहरु योजनाको स्टिमेटमा सक्रिय भएर लागेका छन् । योजनाको स्टिमेट तयार भएका ठाउँमा उपभोक्ता समिति समेत गठन भईरहेको छ । नेपालगन्ज उप–महानगरपालिका योजना शाखा प्रमुख ईञ्जिनियर भुपेन्द्र बोहराले नेपालगन्जमा हाल संघीय बाहेक करिब २५ करोडका चारसय बढि योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

योजनाको कार्यान्वयनका लागि उप–महानगरपालिकाले वडा कार्यालयलाई अझ बढि जिम्मेवार बनाउँदै लगेको हो । चैतभित्र योजना कार्यान्वयनका लागि उप–महानगरपालिकाले निरन्तर अनुगमन गर्दै समस्या भएका स्थानमा तत्काल समाधानका लागि पहल गर्नेछ ।