कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द


कोहोलपुरमा निषेधिज्ञा, आज सबै शिक्षण संस्था बन्द

नेपालगन्ज: बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको अध्यक्षतामा आईतबार बसेको सर्वपक्षिय सर्वदलिय बैठकले कोहलपुर घटनाका घाइतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्दै कोहोलपुरमा निषेधिज्ञा जारी गरेको छ ।

कोहलपुरमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबै राजनीतिक दलले आ–आफ्नो क्षेत्रबाट अपील गर्ने निर्णय गर्दै बैठकले अनिश्चितकालिन निषेधिज्ञा जारी गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोहलपुरको दुर्घटनाको विषयलाई लिएर उत्पन्न परिस्थितीलाई विश्लेषण गर्दै शान्ति सुरक्षा कायम गर्न दुर्घटना क्षेत्र वरपर दक्षिणमा पिपरी, उत्तरमा नौवस्ता जाने बाटो चौराहदेखि पाँच सय मिटर उत्तरसम्म, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको क्षेत्रलाई चारकिल्ला तोकि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सो क्षेत्रभित्र नाराजुलुश, भेला गर्ने, गराउने, हुलहुज्जत गर्ने, सडक अवरोध गर्ने, सवारी तोडफोड, आगजनी, ढुङ्गामुढा जस्ता शान्ति सुरक्षामा नकरात्मक असर पार्ने उत्तेजित कार्य गर्न, नगराउनका लागि सर्वाजनिक सूचना समेत जारी गरिएकोछ ।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर सञ्जु चौधरी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओली, शसस्त्र प्रहरी बलका दिपक अधिकारी, नेपाली सेनाका सेनानी प्रेमसिंह बोहरा, राष्ट्रिय अनुसन्धानका कमलप्रसाद भट्टराई , नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा ५ नम्बर प्रदेश समिति सदस्य नरेन्द्र न्यौपाने, समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्धीन राई, नेपाली काँग्रेसका नारायणप्रसाद गौडेल, समाजवादी पार्टी कोहलपुर नगर अध्यक्ष श्रवणकुमार यादव र नेपाल उद्योण वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको बैठकमा सहभागीता रहेको थियो ।

यसैबीच, दुर्घटनापछिको अवस्थामा संयमता अपनाउन सबैलाई आग्रह गर्दै आज कोहलपुरका सवै शिक्षण सस्था बन्द गरिएको छ ।

क्रिशा बाँकेका अध्यक्ष शिवप्रसाद डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दद्वारा जारी संयुक्त विज्ञप्तीमा कोहलपुर घटनाप्रति दुःखप्रकट गर्दै कोहलपुरका सवै शिक्षण सस्था बन्द गर्ने निर्णय गरिएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयजस्तो संवेदलशील क्षेत्रमा भएको अकल्पनीय दुर्घटनापछि उत्पन्न भएको परिस्थितिप्रति सबैलाई संयमित आग्रह गर्दै सडक दुर्घटनामा घाइते भएका विद्यार्थी तथा अन्य व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दर्छौ ।’