कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन


कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन

तस्विरः दामोदर भण्डारी /सेतोखरी

कोहलपुर: आईतबार विहानदेखि तनावग्रस्त बनेको कोहलपुरमा केहीबेर अघिदेखि यातायातका साधनहरु ठप्प पारिएको छ । स्थानीय त्रिभुवन उमाविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाईते बनाएपछि आईतबार विहानदेखि दोषीमाथि कारबाही पीडितलाई न्याय र औषधी उपचारको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

घाईते छात्रा चन्दको उपचारका लागि काठमाण्डौं लगिएपछि उनको दाहिने खुट्टा काट्न परेको उपचारमा संलग्न विएण्डवि हस्पिटलका चिकित्सकरुहले बताएका छन् ।

तस्विरः दामोदर भण्डारी/ सेतोखरी

पीडित बालिकाको खुट्टा नै काटिएपछि झनै आक्रोशित बनेका कोहलपुर क्षेत्रका विद्यार्थीहरुले सोमबार विहानैदेखि यसक्षेत्रको यातायात लगायत बजार पूर्णरुपले बन्द गरेका हुन् । उनीहरुले घटनास्थल र घटनाका बारे अनुगमन गर्न नेपालगन्जबाट गएको राष्ट्रिय मानव अधिकार आयोग लगायत मानवअधिकारकर्मीहरुको गाडीलाई समेत सडकमै रोकिदिएका छन् । उनीहरुका गाडीलाई ट्राफिक प्रहरीले पिपरीबाट अगाडी नलैजान आग्रह गरेको थियो ।

विद्यार्थीहरुले आयोगको गाडीसमे चल्न नदिएपछि नेपालगन्ज कोहलपुर सडकखण्डको पिपरीदेखि आयोगका पदाधिकारी र अधिकारकर्मीहरु गाडी एक कुनामा थन्काएर पैदल घटना स्थलतर्फ गएको टोलीका सदस्य एवंम ईन्सेक प्रदेश नम्बर पाँचका संयोजक भोला महतले घटना स्थलबाट सेतोखरीलाई जानकारी दिए । उनले भने– ‘गाडी लैजान समस्या त होइन तर, हामीले जोखिम मोल्न चाहेनौं ।’ आन्दोलनकारीले गाडी तोडफोड गरिदिने डरले राष्ट्रिय मानवअधिकार आयोग र ईन्सेकले आफ्ना गाडी घटनास्थलदेखि करिब ५ किलोमिटर वारी गोल्छा चोकमै रोकेर घटना स्थल पैदल हिडेर पुगेका छन् । घटना स्थल पिपरदेखि करिब ५ किलोमिटर दूरीमा रहेको छ ।

यसैबीच घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा सर्वदलिय, सर्वपक्षिय बैठक बसिरहेको छ । उक्त बैठकले कोहलपुरमा घटेको घटना र आन्दोलनलाई मथ्थर गर्नका लागि विशेष भूमिका खेल्ने स्थानीय बताँउछन् । सोमबारपनि विद्यार्थीहरु सडकमा उत्रिएपछि तोडफोड तथा विध्वंसात्मक गतिविधि हुनसक्ने भन्दै कोहलपुर प्रहरीले राजमार्ग र आसपासको सुरक्षाको व्यवस्था बलियो बनाएको कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही बताउँछन् । घटनालाई मथ्थर गरि समस्या समाधान तथा पीडितलाई न्याय दिलाउनका लागि गम्भीररुपमा लागेको उनले बताए ।

तस्विरः दामोदर भण्डारी/ सेतोखरी

आईतबार भएको आन्दोलनमा डिएसपी शाही लगायत दर्जनबढि सुरक्षाकर्मी र विद्यार्थी घाईते भएका थिए । घाईते भएका मध्ये धेरैको कोहलपुरमै उपचार गरिएको छ भने गम्भीर घाईतेभएकाहरुलाई थप उपचारका लागि आईतबार नै सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएर उपचार भइरहेको डिएसपी शाहीले बताए ।

आईतबार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले कोहलपुर क्षेत्रमा घटना मथ्थर गर्न निषेधाज्ञको माईकिङ्ग गरेपनि पूर्ण निषेधाज्ञा(कफ्र्यु) भने घोषणा नगरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय बताउँछन् । उनले भने –‘हामी समस्या समाधानका लागि लागिपरेका छौं, सोमबार साँझसम्म समस्याको समाधान आउनसक्छ ।’

तस्विरः दामोदर भण्डारी/ सेतोखरी