नेपालगन्ज: सरकारले स्तरोन्नतिका लागि नेपालगन्ज विमानस्थलको गुरूयोजना बनाएको वषौं वितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन ।
साना काम नहुँदा जहाज अवतरण स्थल (रनवे) मा बेलाबखतमा समस्या नै समस्या आउने गरेका छन् । रनवे घाँसले भरिएको अवस्था देखिन्छ । जंगलनजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदर जस्ता वन्यजन्तु लुकेर बस्न गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय बताउँछ । जसले गर्दा उडानमा प्रत्यक्ष असर पर्ने गरेको छ ।
निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्सनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा यस्तो समस्या आउने गरेको हो । यसले विमानस्थल घाँसे मैदानमा परिणत भएको छ । बँदेल आतंकले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको प्राधिकरणका प्रमुख प्रेम ठाकुर बताउँछन् । उनकाअनुसार गएको मंगलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन् । यद्दपी बदेलको बच्चाले ज्यान गुमाएको थियो ।
धावनमार्गमा वन्यजन्तु आउनुले एकदमै समस्या निम्त्याएको बुद्ध एयरलाइन्स स्टेसन म्यानेजर विनित शाह बताउँछन् । उनकाअनुसार ‘विमानस्थलमा धेरै घाँसे मैदान छ । बेलाबखतमा सफा गरिएपनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ ।
पप्प कन्स्ट्रक्सनले रनवेमा ‘ओभरले’ गर्ने जिम्मेवारी लिएको थियो । एक वर्ष अघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको यहाँस्थित नागरिक उड्डयन प्राविधकरण प्रमुख ठाकुर बताउँछन् । धावन मार्ग पिच गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्सनले १३ करोड रूपैयाँमा लिएको उनले बताए । जसमा ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरो रहेको छ ।
ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि माग गरेको उनी बताउँछन् । तर, अहिले पनि ठेकेदार माथि नत कारवाही भएको छ । नत विमानस्थलमा काम नै भएको छ उनले भने ‘कसलाई भन्नु म त हैरान भइसके । ’ तोकिएको समयमा आफनो जिम्मेवारी बहन गर्न नसकेको निर्माण कम्पनी पप्पुलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइसकिएको प्राधिकरणका महानिर्देशक राजन पोख्रेल बताउँछन् । उनकाअनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ । पप्पुले जिम्मेवारीले लिएका मध्ये अधिकांश काम अधुरै छन । यसले उडान र अवतरण संवेदनशील बन्दै गएको उनी बताउँछन् ।
वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । ‘तर सुरक्षाको लागि प्रयाप्त छैन । रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ प्राधिकरण प्रमुख ठाकुरले खेतोखरीसँग भने ‘ ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि उसले सुनुवाई गरेको छैन् ।’
१२ अर्ब रूपैयाँ लगानीमा विमानस्थलको आन्तरिक निर्माण भइरहेको उनले बताए । गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउँन अझै १ सय २६ बिघा जमिन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् ।
अहिले ६ ठूला जहाज अटाउने पार्किङ–वे निर्माणाधीन छ । विमानस्थलमा २ वटा मात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ हुने गरेका थिए उनले भने‘ अब ६ जहाज थप गरी पार्किङ वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ ।
’दुई सय मिटरको रनवे रहेको नेपालगन्ज विमानस्थलमा गुरूयोजना अनुरूप पश्मितर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६ सय मिटरसम्म बढाउने तयारी भइरहेको प्रमुख ठाकुर बताउँछन् ।