आन्दोलन टुंगियो, आज सद्भाव र्‍याली

कोहलपुर दुर्घटना प्रकरण


आन्दोलन टुंगियो, आज सद्भाव र्‍याली

तस्विर: दामोदर भण्डारी/ सेतोखरी

कोहलपुर: आईतबार विहानदेखि तनावग्रस्त बनेको कोहलपुर सोमबार बेलुका मात्र शान्त भएकोछ । स्थानीय त्रिभुवन उमाविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाईते बनाएपछि आईतबार विहानदेखि दोषीमाथि कारबाही, पीडितलाई न्याय र औषधी उपचारको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार पनि दिनभर आन्दोलन जारी राखेका थिए ।

कोहलपुर घटनालाई मथ्थर बनाउन सोमबार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले बेलुकामात्र सहमति जुटाउन सफल भएको छ । कोहलपुरको पिपरीमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षिय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो ।

सोमबार बिहान ११ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे ६ बुँदे सहमति गर्दै टुंगिएको प्रजिअ खड्काले बताए । उनले भने, ‘अब सहमति कार्यन्वयनको पाटोमा ध्यान दिनुपर्छ । मंगलबार सद्भावना ¥यालीको तयारी गरिएको छ ।’

६ बुँदे माग अन्तर्गत दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतीपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ । आन्दोलनमा घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्योहर्ने सहमति भएको छ ।

यस्तै, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव ¥यालीको आयोजना गर्ने, घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्तितथा राहतको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शैक्षिक संस्था लगात सरोकारवाला सबैले आ–आफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णयभएको छ ।

जिल्ला तानिए डिएसपी शाही
ट्रकले विद्यार्थी कुल्चिएको विषयलिएर उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै बाँके प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीलाई जिल्ला तानेकोछ ।

प्राप्त सूचना श्रोतका आधारमा बाँके प्रहरीले कोहलपुरका डिएसपी शाहीलाई सोमबार जिल्ला तानेको हो ।

कोहलपुर प्रहरी प्रमुख डिएसपी शाहीको ठाँउमा बाँके प्रहरी प्रवक्ता एवंम डिएसपी शिवबहादुर सिंहले नेतृत्व गरिरहेकाछन् । कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी सिहं सोमबार दिनभर कोहलपुरमा घटना मथ्थर पार्न सक्रिए रहेका थिए । यद्यपी यो तथ्यलाई बाँके प्रहरीले सार्वजनिक गर्न आनाकानि गरेकोछ ।

कोहलपुर घटनामा मानवअधिकाबादीको अपील
कोहलपुर दुर्घटना पश्चात उत्पन्न परिस्थितिको बाँके स्थित राष्ट्रिय मानवअधिकार आयोग लगायत मानवअधिकारकर्मीहरुको एक टोलीले स्थलगत अनुगमन गरेकोछ ।

घटनास्थल र घटनाका बारे स्थलगत अनुगमन गर्दै ४ वटा तथ्यहरु सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईं नेतृत्वमा गएको टोलीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा सार्वजनिक गरेको हो ।

दुर्घटना पश्चात निमार्ण भएको असहज परिस्थितिलाइ नियन्त्रण गर्न प्रहरीले न्यूनतम् बल प्रयोगको मान्य सिद्धान्त विपरित बल प्रयोग गरेको, घटनाको विषयलाई लिएर सादा पोशाकमा रहेका प्रहरीले स्कुल हाता भित्र प्रवेश गरि शिक्षक, विद्यार्थीलाई नियन्त्रणमा लिएको विषयले उत्पन्न परिस्थितिलाई थप उत्तेजित बनाएको, घटनामा सुशील थापा, महेश आर्चाय लगायत दर्जन बढी विद्यार्थी घाइते भई एघार जनाको काठमाडौँ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको र केही प्रहरी पनि घाइते भएका र कोहलपुर क्षेत्रमा २ दिन देखि विद्यालय बजार, सवारी आवागमन बन्द रहेकोले नागरिकको जनजिवन असहज रहेकोे सोमबार जारी प्रेस विज्ञप्तीमा उल्लेखछ ।

यस्तै मानवअधिकारकर्मीहरुद्वारा जारी प्रेस विज्ञप्तीमा ६ बुँदे अपील समेत गरिएकोछ । घटनका विषयमा छानविन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाउन, सवारी दुर्घटनामा गम्भीर घाइते भएकी छात्रा प्रकृति चन्द लगायतको सबै घाइतेहरुको कुनै कसर नरहने गरि उपचारका लागी सरकार समक्ष अनुरोध गर्दै चन्द लगायत घटनामा घाइते भएका सबैको सिघ्र स्वस्थ्य लाभको कामना, घटनामा परि आफ्नो महत्वपूर्ण अंग गुमाउनु परेको पीडा जो कोहीका निम्ति पिडादायी छ, तसर्थ गम्भीर घाइते भई उपचार्थ रहेकी चन्दको उच्च शिक्षा सम्मको व्यवस्था मिलाउन, घटना पश्चात बालिकाको मृत्यु नभएपनि आम सञ्चार माध्यममा मृत्यु भएको भनि प्रकाशित समाचारले आम नागरिकलाई थप उत्तेजित बनाएकोले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य सूचना मात्र प्रकाशनका लागी सञ्चार माध्यमलाई अनुरोध गरिएको प्रेस विज्ञप्तीमा उल्लेखछ ।

यस्तै, विद्यालयका बालबालिकाले भयमुक्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गरिनुका साथै शान्ति सुरक्षा कायम गरि जनजिवनलाई सामान्य बनाउन मानवअधिकारकर्मीहरुले सरोकारवाला निकायसंग प्रेस विज्ञप्तीमार्फत अपील समेत गरेकाछन् ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईंको नेतृत्वमा ईन्सेक प्रदेश पाँच नेपालगन्जका प्रमुख भोला महत, सिविन नेपाल, नेपालगन्जका प्रमुख सिद्धराज पनेरु, फियानका सुरेश गौतम, एड्भोकेसी फोरमका बसन्त गौतम, मानवअधिकार एलाइन्सका प्रभात सिंह ठकुरी, हिमराईट्सका प्रकाश उपाध्याय, नेपालगन्ज उच्च अदालत बार एशोसियसनका अध्यक्ष विकास आचार्य लगायतको टोलीले कोहलपुर घटना र घटनास्थलको स्थलगत अनुगमन गरेको थियो ।