उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी


उजुरीपछि ‘पेटी ठेकेदार’ लाई रकम भुक्तानी

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर चारमा निर्माण गरिएको अत्याधुनिक बसपार्कमा काम गरेका ‘पेटी ठेकेदारले बुधबार भुक्तानी पाएका छन् ।

निर्माणको जिम्मेवारी लिएको मुख्य ठेकेदार कम्पनी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि काठमाडौंले समयमै रकम नदिएको भन्दै यहाँस्थित नेपालगन्ज उपमहानगरपालिकामा उजुरी दिएका उनीहरूलाई मुख्य ठेकेदारले बुधबार सबै रकम भुक्तानी गरेको हो ।

बसपार्क निर्माणको काम गरेका ‘पेटी ठेकेदार’हरूले आफूले काम गरे वापतको पाउनुपर्ने रकम नपाएपछि मंगलबार उपमहानगरपालिकासँग हारगुहार गर्न पुगेका थिए ।

उनीहरूले उपमहानगरपालिकामा आफूहरूको सम्झौताअनुसारको रकम मुख्य निर्माण कम्पनीसँग उपलब्ध गराईदिन निवेदन समेत दर्ता गराएका थिए ।

‘पेटी ठेकेदार’ ले यसरी रकम असुलीका लागि निवेदन नै दर्ता गराएपछि उपमहनागरपालिकाले मुख्य ठेकेदार कम्पनीलाई आवश्यक रकम उपलब्ध गराएको थियो । यसपछि मुख्य ठेकेदारले ‘पेटी ठेकेदार’लाई सबै रकम भुक्तानी गरेको ‘पेटी ठेकेदार’ ओविराज आचार्यले बताए ।
बसपार्क निर्माणको जिम्मा पाएका ‘पेटी ठेकेदार’लाई काम सकिएपछि पनि मुख्य ठेकेदार यूनाइटेडले रकम भुक्तानी नदिएपछि यहाँका ‘पेटी ठेकेदार’हरू समस्यामा परेका थिए ।

बसपार्क निर्माण गरि हस्तान्तरण र उद्घाटन भइसकेपनि आफूहरुले गरेको कामको रकम समयमै नपाएपछि १२ जना ‘पेटी ठेकेदार’ ले युनाइटेड बिरुद्ध उपमहानगरपालिकामा निवेदन दर्ता गराएका हुन् ।

लामो समयसम्म आफुहरूले पाउनुपर्ने रकम नपाएप्पछि युनाइटेडबिरुद्ध निवेदन दर्ता गराउनु परेको पीडित ‘पेटी ठेकेदार’ जगदीश खनाल बताउँछन् ।

यसअघि कम्पनी मालिकलाई फोन गर्दा कहिले के भन्ने त कहिले हुन्छ भनेर मात्रै टार्नेे गरेको पीडित ‘पेटी ठेकेदार’ खनाल बताउँछन् । सधैं झुट बोलेर हामीलाई धोका दिएकाले युनाइटेडबिरुद्ध निवेदन दिनुपरेको अर्का पीडित ‘पेटी ठेकेदार’ इब्राहिम दर्जी बताउँछन् । पीडित १२ जना ‘पेटी ठेकेदार’को निवेदनअनुसार युनाइटेडले करिब ८० लाख रूपैयाँ भुक्तानी गरेको छ ।