File Photo
नेपालगन्ज: यसवर्ष ढिलोगरि सुरु भएको पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ । इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु–कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको थियो ।
सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट न्यूनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ ।
बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ । पश्चिमी मौसमको प्रभावका कारण आज देशभर पश्चिमी, मध्य र पूर्व भेगमा हल्का वर्षा हुनुका साथै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।