हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

हिउँमा टिपर चिप्लिदाँ दुईको मृत्यु


हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

नेपालगन्ज: हिमपातका कारण नेपालगन्जदेखि हुम्लाको हवाई उडान समेत प्रभावित बनेको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरू हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

उनकाअनुसार हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द छ । नेपालगन्जबाट हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान बिहीबार प्रभावित भएको उनी बताउँछन् । यसले कर्णालीको हुम्ला लगायतका जिल्लामा जाने दर्जन हवाई यात्रु नेपालगन्जमै अलपत्र परेका छन् ।

हिमपातका कारण कर्णालीमा चिसो अत्यधिक बढेको छ । यसको प्रभाव नेपालगन्जमा पनि बिहीबार मौसममा फेरबदल भएको छ । बिहीबार दिउँसोसम्म हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामा बताउँछन् । हिमपातका कारण एक गाउबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ ।

हिउँमा टिपर चिप्लिदाँ दुईको मृत्यु
हुम्लामा हिमपातको कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५ ख ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका ५मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो ।

‘यहाँ हिमपात भइरहेको छ, हिउँकै कारण सडकबाट चिप्लेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले भने ।

सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिकाका ४ याल्वाङका सावेल लामा र नाम्खा गाउँपालिकाका वडा नम्वर १ का स्थानीय सोनाम लामा रहेका छन् । दुर्घटनामा परेर नाम्खा–१ हेप्काका सोनाम तेजुङ र चालक घाइते भएका छन् । घाइते चालकको पहिचान खुल्न नसकेको सिंहले बताए ।

यो पनि पढ्नुस्

देशभर पश्चिमी वायुको प्रभाव, भारी हिमपात र हल्का वर्षा हुने