जुम्लामा छाउपडि गोठ मुक्त अभियान शुरु


जुम्लामा छाउपडि गोठ मुक्त अभियान शुरु

File Photo

जुम्लाः समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्यूनिकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको छ । जुम्लाका स्थानीय तहले गैर सरकारी संस्थासँगको समन्वयमा छाउपडि गोठ मुक्त अभियान सुुरु गरेका हुन् ।

जुम्लाको तिला गाउँपालिकाले २०२१ सम्म पुरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाइ सक्ने रणनिती तयार पारि अघि बढेसगैं अभियानलाई तिव्रता दिइएको हो ।

हालसम्म जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाका ६ बस्ती, तिला गाउँपालिकाका ११ बस्ती र पातारासी गाउँपालिकाका ४ वटा बस्ती छाउगोठ मुक्त भइसकेका छन् ।

छाउगोठ मुक्त बस्ती अभियान अन्र्तगत महिनामा दुई पटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गर्छन् । प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन हुन्छ ।

त्यो समयमा छाउपडि बार्ने र नबार्ने संख्या यकिन हुने गर्छ । त्यसपछि गाउँ तथा बस्ती स्तरीय सामूहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गरिन्छ । त्यो अवधीसम्म छाउपडि प्रथाका कारण महिलाले भोग्नु परेका समस्याका बारेमा जनचेतना अभिवृद्धिका समेत कार्यक्रम भइरहेका हुन्छन् ।

वडापालिका र गाउँपालिका स्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणा गरिन्छ । अनुगमन प्रतिबेदनका आधारमा छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि मिति तय गरिने गरेको स्थानीय तह बताउँछन् ।

सर्बोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छाउपडि प्रथाविरुद्ध महिला एक जुट हुँदै गइरहेको बताउँछन् । तथ्यांक अनुसार जुम्लाका २६ बस्ती छाउगोठ मुक्त भइसकेका छन् ।

छाउपडि प्रथा महिलाको बृद्धि विकासको बाधक हो,‘सामाजिक अभियन्ता कमलराज खत्री भन्छन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनिरकरणका लागि यो अभियान नमुना कार्य हो ।’

सर्बोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्तीहरु छाउगोठ मुक्त भइसकेका छन् । सरकारले छाउपडि उन्मुुलन निर्देशिका ल्याएपनि अझै पनि यसको कार्यन्वयनमा आउन सकेको छैन । निर्देशिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्धारण गरेको छ । तर यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन ।