अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन

आदर्श मावि जग्गा प्रकरण


अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२०गायत्रीनगरमा माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ ।

विद्यालयको नाममा लालपूर्जा रहेको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह सात का १४ धुर जग्गा अतिक्रमण हटाउन बाँके प्रशासनलाई परिपत्र गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमित भएपछि विद्यालयका नियमित गतिविधि सञ्चालनमा समस्या भएको भन्दै विद्यालयले गृह मन्त्रालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि परिपत्र गरेको उनले जानकारी दिए ।

सुकुम्बासीका नाममा बसेका केही व्यक्तिले अटेरी गर्दै विद्यालयले जग्गा खाली गर्न नदिएपछि पटक पटक विवाद हुँदै आएको छ । गृह मन्त्रालयले जग्गा खाली गर्न आवश्यक कारबाहीका लागि परिपत्र गरेपछि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर अतिक्रमित जग्गा १५ दिनभित्र खाली गराउने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले अतिक्रमित जग्गामा बनाइएका खाली घर र भाडाका घर ७ दिनमा र अन्य घरहरु १५ दिनमा खाली गराउने निर्णय गरेको नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउँछन् ।

सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरिरहेका व्यक्तिहरुले अतिक्रमित जग्गा छोड्न अटेरी गरेपछि विद्यालयले गृहमन्त्रालयको परिपत्रसहित जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठकमार्फत जग्गा खाली गर्न पुनः १५ दिनको म्याद दिएको छ ।

तोकिएको अवधिभित्र पनि जग्गा खाली नगरेमा प्रचलित कानून बमोजिम विद्यालयले कारबाही अघि बढाउने प्रधानाध्यापक प्रकाश आचार्य बताउँछन् । यसअघि विद्यालय व्यवस्थापन समितिको कात्तिक २० गते बसेको बैठकले ३० दिने सूचना जारी अतिक्रमित जग्गा खाली गर्न आग्रह समेत गरेको थियो ।

विद्यालयको गयनपुरमा रहेको कित्ता नं. ४५ को एक विवाह ११ का र ४९ नम्बर कित्ताको १२ का १५ धुर जग्गा अहिले पनि अतिक्रमणमै परेको छ ।

२०७१ सालको सर्वेक्षणअनुसार विद्यालयको जग्गामा ७१ घरधुरी रहेका छन् । तीमध्ये १७ घरधुरीलाई गत बर्ष वडा कार्यालयको पहलमा अन्यत्रै स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका १७ घरधुरीले समेत हालसम्म अतिक्रमित जग्गा छाड्न मानेका छैनन् ।

यो पनि पढ्नुहोस्

आदर्श माविको अल्टिमेटमः ३० दिनभित्र जग्गा खाली गर्नु