नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका ट्राभल एजेन्सीहरू आन्दोलनमा उत्रिएका छन् । श्री एअरलाइन्सले टिकटमा कमिशन घटाएको विरोधमा एजेन्सीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोली एजेन्सीहरूले आइतबार श्रीएअरलाइन्सको टिकट काट्न समेत बन्द गरिदिएका छन् ।
श्रीएअरलाइन्सले कमिशन घटाएपछि ट्राभल एजेन्सीहरुले रूष्ट भएका हुन । स्थापनाकालमा राम्रो कमिशन दिएको श्री एअरलाइन्सले ‘पिकअप’ लिएपछि ट्राभल एजेन्सीलाई मतलव नगरेको उनीहरुको गुनासो छ ।
यस बिषयमा पटक÷पटक एअरलाइन्सलाई सहमति गर्न आग्रह गरेपनि एअरलाइन्सले अहिलेसम्म कुनै सुनुवाई नगर्दा आन्दोलन गर्न बाध्य भएको नाट्टा बाँकेका महासचिव झवीलाल शर्मा बताउँछन् । ट्राभल एजेन्सीको छाता संगठन नाट्टाले आधिकारीक रूपमै अनिश्चितकालका लागि टिकट काट्न बन्द गरेको शर्माले बताए ।
उनका अनुसार मंसिर २६ गतेदेखि बाँकेका कुनैपनि टूाभल एजेन्सीले श्रीको टिकट काटेका छैनन् । यसले श्रीका सेवाग्राही उपभोक्ता मर्कामा परेका छन् ।