पीडित परिवारलाई १० लाख


पीडित परिवारलाई १० लाख

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीय ठगी खड्काको मृत्यु भएको थियो ।

दुवै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई ५० हजार उपलब्ध गराएको थियो ।

संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आइएको निकुञ्जले जनाएको छ । उनले भने, ‘हरेक दुःख, सुखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिनुभएको छ, आगामी दिनमा दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ ।

बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ ।

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको निकुञ्जले जनाएको छ ।