प्रदेश पाँच: साढे ५ सय बालबालिका गायब


प्रदेश पाँच: साढे ५ सय बालबालिका गायब

नेपालगन्ज : प्रदेश पाँचमा पछिल्लो दुई बर्षको समयावधीमा पाँच सय ४४ जना बालबालिका हराएका छन् । बालबालिका खोजतलास समन्वय केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको तथ्यांकअनुसार बर्सेनी हराउने बालबालिकाको संख्या उल्लेख्य देखिएको छ ।

यी दुवै निकायको तथ्यांकअनुसार गत वर्ष ०७५/७६ मा देशभरमा तीन हजार, चार सय, २२ जना बालबालिका हराएका छन् । जसमा आर्थिक बर्ष ०७६/७७ को अहिलेसम्म प्रदेश पाँचबाट दुई सय, ५० जना बालबालिका हराई सकेका छन् ।

केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले पारिवारीक र अपहरणमा परी बालबालिका हराउने गरेको बताए । अभिभाकले बालबालिकाको मनोविज्ञान बुझ्न नसक्दा, साथीको लहैलहै, गरिबीले गर्दा बालबालिका बाहिर सडकमा गई हराउने गरेको उनी बताउँछन् ।

निवेदन आइसकेपछि उद्धारमा खट्छौँ उनले भने ‘यौन क्रियाकलापमा पनि बालबालिका संलग्न हुने गरेकाछन् ।’ उनकाअनुसार देशभर हराएका बालबालिकामध्ये दुई हजार आठ सय ५८ जना फेला पारेको तथ्यांकमा उल्लेख छ ।

उनकाअनुासर अझै एक हजार ६ सय ८७ जना बालबालिका भेटिएका छैनन् । उनले भने,‘हराएका बालबालिका खोज्ने काम जारी छ ।बालबालिकालाई संरक्षण गर्न माया, ममता र स्वात्न्त्र रुपले घरमा घुलमिल गराउनुपर्छ ।’ हराएका बालबालिकाको उद्धार गरी पाँच सय ८२ जना बालबालिकालाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको केन्द्रको तथ्याकंले देखाएको छ ।

उनकाअनुसार ०७३ वैशाख २६ गतेबाट खोज अनुसन्धान कार्य थालनी गरी अहिलेसम्म एक हजार ११ जना बालबालिकाको उद्धार गरेको छ । उनका अनुसार एक सय १० जना बालबालिकालाई बाँकेसहितका विभिन्न सम्पर्क गृहमा राखिएको छ ।

गैरसरकारी निकायले एक सय २३ जना बालबालिका राखेका छन् ।

हराउनेमा बालकभन्दा बालिका बढी

हराउने केटाकेटीहरूमा बालकभन्दा बालिका बढी भएको तथ्यांकले देखाएको छ ।

गत वर्ष ०७५/७६ मा दुई हजार तीन सय ७१ जना बालिका हराएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ को अहिलेसम्म तथ्यांकमा पनि बालक तीन सय ६० जना हराएका छन् । बालिका ७ सय ६३ जना हराइसकेका छन् ।

हराउनेमा १४ देखि १८ वर्षका बढी बालबालिका छन् । उनका अनुसार गत वर्ष ०–५ वर्ष उमेरका बालबालिका ६८ जना हराएका थिए । ६ देखि १० वर्षको उमेरका एक सय ७४ जना बालबालिका, ११ देखि १४ वर्षका एक हजार ९३ जना बालबालिका हराएको थियो । १५ वर्षदेखि १८ उमेरका तीन हजार चार सय २२ जना बालबालिका हराएका थिए ।

सुदूरपश्चिम प्रदेशमा तीन सय २६ जना बालबालिका हराएका छन् । कर्णाली प्रदेशमा दुई सय ८८ जना बालबालिका हराएको तथ्यांकमा उल्लेख छ । देशभर दुई वर्षको अवधिमा चार हजार, पाँच सय ४५ बालबालिका हराएको केन्द्रको तथ्याकंले देखाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले बर्सेनी करोडौंको लगानी गरेका छन । तर, उक्त लगानी उपलब्धीहीन हुँदै गएको छ ।