पर्यटक ल्याउन पर्यटकीय पुर्वाधार जरूरी छ: सहसचिव उपाध्याय


पर्यटक ल्याउन पर्यटकीय पुर्वाधार जरूरी छ: सहसचिव उपाध्याय

मुलुक संघीय संरचनामा गइ सकेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यतिबेला के गर्दै छ, कस्ता योजनाहरु बन्दैछन् अनि दिगो पर्यटनको मुख्य आधारका रुपमा रहेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विविध योजना अघि सारेको छ ।

मूलभूत रूपमा यस मन्त्रालयले अहिले नयाँ संविधानको कार्यान्वयनसँगै मन्त्रालयको नीतिगत, संरचनागत र जनशक्ति व्यवस्थापनका कुरामा पुनःसंरचना र संघीकरण गर्दै छ । अहिले हामी पर्यटन नीति, हवाई नीति र संस्कृति नीति अहिले अपडेट गर्दै छौं । नीतिगत संरचनामा सुधारसँगै कानुनी पक्षका सुधार पनि अगाडि बढिरहेका छन् । जस्तैः नयाँ पर्यटन नीति तर्जुमाका लागि नयाँ कार्यदल गठन भएको छ । एकीकृत हवाई नीतिको ड्राफ्ट भएर स्टेक होल्डरको कन्सलटेसन भइसकेपछि पब्लिक ओपिनियन लिने चरणमा पुगेको छ ।

त्यसैगरी संस्कृति क्षेत्रसँग सम्बद्ध कानुन पनि सुधार गर्दै छौं । जस्तैः क्यासिनो ऐन तर्जुमाका लागि विगतको संसद्को संसदीय समितिले पटक–पटक निर्देशन दिएको र क्यासिनो व्यवस्थापन प्रभावकारी हुन नसकेको सन्दर्भमा यसलाई थप प्रभावकारी बनाउने र फ्रेमवर्क नै बलियो बनाउने गरी क्यासिनो ऐन तर्जुमाको काम पनि अगाडि बढिरहेको छ ।

पर्यटन प्रवद्र्धन महाशाखा हेन्डलिङ गर्ने सह सचिवको हैसियतले भन्नुपर्दा २०२० लाई १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल ट्वान्टी–२० को अवधारणापत्र र त्यसको संरचना क्याविनेटबाट स्वीकृत भइसकेको छ । मूलभूत रूपमा विश्व पर्यटन बजारमा इमर्जिङ मार्केटका रूपमा रहेको चीन र भारत हाम्रो वरिपरि छन् । यिनलाई लक्षित गरी कन्ट्रिवाइज पर्यटन प्रवद्र्धन रणनीति बनाउँदै छौं । आन्तरिक पर्यटनलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाउन विविध कार्यक्रम गरिरहेका छौं । जस्तो:पशुपति दर्शन वर्ष, रामजानकी विवाह महोत्सव, लुम्बिनी भ्रमण अभियानलगायत कार्यक्रम अघि बढाइरहेका छौं । हरेक प्रदेशको एक प्रमुख पर्यटकीय स्थललाई केन्द्रविन्दु मानेर प्रदेशगत पर्यटन सर्किटको विकास गर्ने तथा हिन्दू र बौद्धिष्ठ सर्किटका रूपमा विकास गर्ने अभियान पनि जारी छ ।

क्याविनेटले निर्णय गरिसकेको छ । मन्त्रीस्तरबाट अवधारणापत्र स्वीकृत भइसकेको छ । यसका संरचना व्यवस्था भइसकेका छन् । यसलाई फङ्सनल बनाइसकेका छैनौं । किनकी हामीले सन् २०१८ लाई सुरूवात वर्ष मानेका छौं । सन् २०१९ लाई मूल अभियान र २०२० लाई नेपाल भ्रमण अभियान वर्ष भनेर प्रस्तुत गरेका छौं । सन् २०१८ को सुरूवातसँगै सचिवालय स्थापना गर्ने र तत्काल मूल तथा कार्यकारिणी समितिलाई सक्रिय बनाउँछौं । यस अघि पनि बिभिन्न वर्ष मनाइएकै हो ।

दिगो पर्यटन भनेकै आन्तरिक पर्यटन हो । हामीले बाह्य पर्यटकमा रहेको निर्भरतामा बदलाव ल्याउन जरुरी छ । गत वर्षको तथ्यांक अनुसार नेपालमा आएका पर्यटकले गर्ने खर्चभन्दा नेपालका नागरिकहरू वैदेसिक पर्यटक भएर गरिने खर्च बढी देखिएको छ । त्यसले पनि के देखाउँछ भने नेपालीहरू पनि खर्च गर्न सक्षम छन् । नेपालीहरूलाई रिक्रेसन दिन सक्ने किसिमका प्याकेजको विकास गर्न जरूरी छ । २०७३ सालमा ‘नेपाल घुमफिर वर्ष’ अभियान सञ्चालन गर्यौं ।

आन्तरिक पर्यटन पनि हुन्छ । आन्तरिक पर्यटकले पनि घुम्नु पर्छ र उनीहरूलाई घुम्ने वातावरण बनाउनुपर्छ भन्ने कुराको जागरण भएको छ । त्यसैले हामीले यस वर्ष तीनवटा कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउने तयारी गरेका छौं । पहिलो, स्थापित गन्तव्यको पवद्र्धन गर्ने जस्तै आन्तरिक पर्यटकको स्थापित गन्तव्य काठमाडौं, पोखरा र चितवन हुन् । यसमा निजी क्षेत्रकै नेतृत्वमा हान, टान, नाटालगायत नेतृत्वदायी संस्थाको नेतृत्वमा हामीले विभिन्न अभियान अघि बढाउन खोज्दै छौं ।

दोस्रो, पर्यटनको बिबिधिकरणः रारा, खप्तड, पाथिभरा, गढीमाई जस्ता आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सकिने अवसर भएका अन्य गन्तब्यहरुमा पर्यटनबोर्डको साधनस्रोत र मन्त्रालयको समन्वयमा सरकारको नेतृत्वमा अगाडि बढ्ने योजना रहेको छ । अर्थात जहाँ व्यापारिकरुपले सहज फिजिबल भइ सकेको छ त्याहाँ निजी क्षेत्रको नेतृत्व र जहाँ नाफा नदेखेर व्यापारीहरु आफै जाने अवस्था छैन त्याहाँ सरकारी पक्षको नेतृत्व गरेर अगाडि बढ्दै छौं ।

लुम्बिनी, पशुपतिनाथ र रामजानकी मन्दिर हाम्रा प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हुन् । यिनको प्रवद्र्धन गर्न तीनवटा अभियान सञ्चालन गरी पर्यटकलाई तीनवटामा क्याटागोराइज गरेका छौं । पर्यटनमा निरन्तर प्रयास गरिरहनुपर्ने रहेछ । यसमा नतिजा कहिले देखिने हो भन्ने निश्चित हुँदैन । जस्तो अहिले नै २०१७ भित्र १० लाख पर्यटक क्रस गर्ने सम्भावना छ । हामीले वान मिलियन पर्यटक पुगेको अवसरमा पनि कुनै अभियान सञ्चालन गर्नुपर्छ र त्यसलाई पनि मार्के्टिङ गर्नुपर्छ भन्ने किसिमको सोच पनि बनाइरहेका छौं । यसबारे छलफल पनि गरिरहेका छौं । हामी पूर्वाधारमा नै कमजोर छौं । पर्यटकीय पूर्वाधार बनाउन सके नेपालमा संख्यात्मक र गुणात्मक पर्यटक ल्याउन गाह्रो छैन ।

पर्यटक भनेपछि विदेशी मात्र हुन् भन्ने किसिमकोे आम बुझाइ छ । सरकारी प्राथमिकता र निजी क्षेत्रको बुझाइ त्यस्तै छ । कुनै पनि कुरामा सरकार र निजी क्षेत्र छुट्टाछुट्टै गर्न सक्ने होइन । सरकारी प्रयास निजी क्षेत्रको सहयोगबाट अघि बढ्छ । यो कुरा विगतमा प्राथमिकता दिन सकिएको थिएन । अहिले पनि पर्यटन बोर्ड र पर्यटन मन्त्रालयका कार्यक्रमसँगै निजी क्षेत्र पनि आन्तरिक पर्यटनतर्फ उन्मुख भएको छ । उदाहरणका लागि पोखरालाई लिन सकिन्छ । भूकम्प पछि र द्वन्द्वकालमा पोखरा धानिएको आन्तरिक पर्यटकले नै हो । अहिले पनि करिब ७० प्रतिशत पोखराको होटलको अकुपेन्सी आन्तरिक पर्यटकबाट थेगिएको छ । आन्तरिक पर्यटन विकासमा केही ढिलो भए पनि राम्रा सुरूवात भएका छन् ।

मैले अघि पनि भनें, पर्यटनमा एकै पटक नतिजा देखिन गाह्रो हुँदो रहेछ । यो भ्रमणकर्ताको मानसिकतामा आउनुपर्ने परिवर्तन हो । फलानो ठाउँ म जान आवश्यक छ । त्यसका लागि सपोर्ट गर्ने सरकारले कसरी हो त भने घुम्ने धारणा सम्बन्धित व्यक्तिले नै बनाउनु पर्छ । उसलाई घुम्नका लागि त्यो वातावरण निजी क्षेत्रले बनाउने हो । जस्तैस् पूर्वाधार दिनुपर्यो । हरेक मान्छे अहिले रारा गएर फर्किन चाहन्छ । तर, रारा पुग्ने पूर्वाधार कस्तो छ रु पर्सी काम भएको मान्छे भोलि फर्किन सक्छुभन्ने कुराको एसुरेन्स नपाउँदासम्म जाँदैन ।

हाम्रा पूर्वाधारमा भएका कमीलाई पनि मन्त्रालयले छिचोल्दै छ । जस्तैस् त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अपग्रेडेसनको प्रोजेक्ट । पोखरा एयरपोर्ट चार वर्षपछि बनिसक्ने कुरा थियो । तर, यसको प्रगति राम्रो हुन सकेको छैन । लुम्बिनी एयरपोर्ट लगाएत आन्तरिक हवाइ उडान र सडकको गुणस्तर सुधार गर्ने कुराहरुमा सरकारका सबै निकायहरुको समन्वय उत्तिकै जरुरी हुन्छ । मुस्ताङ, हुम्ला, जुम्ला र मुगु जाने बाटो राम्रो बन्यो भने न त्याहाँ पर्यटक राम्ररी पुग्छन् । हाम्रो त थुप्रै सम्भावना छ । कृषि–पर्यटन, स्वास्थ्य–पर्यटनको उत्तिकै सम्भावना छ । पर्यटनको दृष्टिकोणले त हरेक डाँडालाई विशेष पर्यटकीय क्षेत्र बनाउन सक्छौं ।

पर्यटनकै लागि भनेर नगरिएका क्रियाकलाप भए पनि पर्यटनलाई सकरात्मक र नकरात्मक असर पार्छ । काठमाडौंमा धुलो बढी भयो भने हामी के सोच्छौं भने यहाँ बसिरहेका मानिसलाई यो धुलो नकारात्मक असर पारिरहेको छ । तर, केही दिनअगाडिको पत्रिका हेर्नुभयो भने दिल्लीमा धुलोधुँवा बढी भएका फोटो आइरहेका छन् । भन्न खोजेको के हो त भन्दा कोही नेपाली नै दिल्ली जाने सोचिरहेको थियो भने पनि एक चोटी सोच्छ । डाइरेक्ट र टेन्जिवल रूपमा नदेखिए पनि पर्यटनको असर हुन्छ । जस्तै अहिले हामी नागढुङ्गादेखि चितवनसम्मको बाटोको अपग्रेडेसन कार्य भइरहेको छ ।

त्यसको निर्माणमा भइरहेको ढिलाईले स्थानीय सर्वसाधारण नागरिकको आवागमनमा नकरात्मक असर पारिरहेको छ भन्ने हामीले बुझिरहेका छौं तर त्यसले पर्यटनमा पनि असर पारेको छ । जुम्लामा मुगुसम्मको बाटो बन्दा पब्लिकलाई मात्र सेवा दिने हेतुले बनाएको बाटो थियो होला । तर, त्यसबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । हरेक कुरा जोडिँदा रहेछन् । जीवनस्तर वृद्धि भयो भने मान्छे पर्यटनमा जादो रहेछ । यसमा हरेक मन्त्रालयका स्थानीय तहका क्रियाकलापहरूले जोडिरहेको हुन्छ । पर्यटनमैत्री व्यवहार हरेक निकायको आवश्यकता हो । यसतर्फ ध्यान दिन जरूरी देखिएको छ ।
सहयोग: पर्यटन प्रशासन