विद्यालय अनुगमनमा तह उदासिन


विद्यालय अनुगमनमा तह उदासिन

नेपालगन्ज: बाँकेका प्रायः स्थानीय तहका शिक्षा शाखामा आवश्यकता अनुसारका कर्मचारी अभाव देखिएको छ । यसले गर्दा बषौंदेखि यहाँका कुनै पनि विद्यालयको नियमति प्रभावकारी अनुगमन हुन सकेको छैन ।

शिक्षा शाखामा आबश्यकता अनुसारका कर्मचारी नहुँदा विद्यालय अनुगमन अवरूद्ध भएको बाँकेस्थित शिक्षा विकास तथा समवन्य इकाई कार्यालय नेपालगन्जले बताएको छ ।

स्थानीय हतबाट दरबन्दी र कर्मचारी माग भइरहेको भएपनि जिल्लामै कर्मचारी अभाव हुँदा तहमा पठाउन नसकिएको कार्यालय बताउँछ ।
बाँकेस्थित इकाई कार्यालयमा अहिले आठ जना कर्मचारीको दरबन्दी छ । तर, यतिबेला कार्यालयका दरबन्दी अनुसारका सबै कर्मचारी छैनन् ।
कर्मचारी नहुँदा समयमै नियमित बाँके जिल्लाभरीकै विद्यालय मात्रै नभई उपमहानगर क्षेत्रकै विद्यालयमा समेत अनुगमन गर्न नसकिएको इकाई कार्यालयका शाखा अधिकृत भोजप्रसाद लम्साल बताउँछन् ।

देश संघीयतामा गएसँगै विद्यालय अनुगमनको जिम्मेवारी सम्बन्धीत स्थानीय निकायले नै पाएको बताउँदै शाखा अधिकृत लम्सालले भने ‘इकाई कार्यालयले त अनुगमनका लागि समन्वय मात्र गर्ने हो । हामी सिधै अनुगमनमा त जान्छौं तर, हामी भन्दा धेरै स्थानीय तहको जिम्मेवारी बढी हुन्छ ।’

बाँकेमा सामुदायिक विद्यालय तर्फ कक्षा एकदेखि आठसम्म एक सय ६८ वटा विद्यालय छन् । जसमा शिक्षक र कर्मचारीको नौ सय ९६ दरबन्दी रहेको छ । उनकाअनुसार विद्यालय अनुपातमा यो संख्या कम हो । बाँकेमा माध्यमिक ५२, उच्च मावि ३० र प्राविधिक १६ गरी ९८ वटा सामुदायिक विद्यालय छन् ।

यसरी हेर्दा बाँकेमा जम्मा सामुदायिक विद्यालयको संख्या दुई सय ६६ छ । जसमा मदरसा, गुरूकुल र निजि विद्यालय जोडिएको छैन् । यी विद्यालय शिक्षक दरबन्दी मावि तहमा एक सय ७३ छ । जसमा राहत शिक्षकको संख्या समावेश गरिएको छैन् । बाँकेमा प्रावि, निमावि, मावी र उमावीमा गरी ६ सय ५५ जना राहत शिक्षक भएको लम्साल बताउँछन् ।

बाँकेमा पाँच सय ८२ वटा वालविकास केन्द्र, एक सय ६ वटा मदरसा, चारवटा गुरूकुल र १६ वटा प्राविधिक शिक्षाका विद्यालय सञ्चालनमा रहेको उनी बताउँछन् ।

विद्यालय र विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी अभाव देखिएको छ । यसले अनुगमन मात्रै नभई विद्यालयको गुणस्तरीय पढाईमा समेत समस्या भइरहेको छ । यसतर्फ स्थानीय तहले खासै चासो देखाउँन नसकेको उनको भनाई छ ।

स्थानीय तहले दरबन्दी अनुसारका शिक्षकको माग नगरेकोले पनि जिल्लातहबाट केन्द्रीय तहमा पहल गर्न नसकिएको उनी बताउँछन् । दरबन्दी अभावकै कारणले नयाँ कक्षा सञ्चालन भएका विद्यालयको पठनपाठनमा समस्या भइरहेको उनले बताए ।