वाटरपार्कले मुहार कहिले फेर्छ ?

निर्माण योजना १२ बर्षदेखि अधुरै


वाटरपार्कले मुहार कहिले फेर्छ ?

नेपालगन्ज : बाह्र बर्ष पहिले तयार गरिएको नेपालगन्जस्थित वाटरपार्क निर्माणको योजना अहिले पनि अधुरै छ । योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग असहमति हुँदा उक्त योजना निर्माण रोकिएको थियो । अहिलेसम्म दु्रतगतिमा अघि बढ्न सकेको छैन् ।

करिब ७० करोड लागतको उक्त योजनामा थुप्रै रकम खर्च भइसकेको छ । तर, योजनाको लक्ष्यअनुसार १२ बर्षसम्म खासै काम हुन नसकेको स्थानीय बताउँछन् ।

विगत १२ बर्षअघिको योजनामा अहिले आएर वाटरपार्कको जग्गा बिक्रि वितरणका लागि मुल्य निर्धारण समिति बनेको छ । जनप्रतिनिधी आइसकेको करिब तीन बर्ष हुन लाग्दासम्म पनि उक्त योजनाका बारेमा कसैले गम्भीर रूपमा चासो नदेखाएका छैनन् ।

जानकारहरूका अनुसार दुई दशक अघि अहिलेको वाटरपार्क एउटा खाल्डोको रूपमा थियो । त्यो पनि इँटा उद्योगले बनाएको । त्यसैबेला बर्खातले गर्दा पानी जमेर उक्त खाल्डो तलाउ बनेको थियो ।

खाल्डोमा पानी जमदै जाँदा तत्कालिन नेपालगन्ज नगरपालिकाले कृत्रिम तलाउको रूप दिएपछि उक्त खाल्डो अहिलेको वार्टरपार्कका नामले परिचित बनेको हो ।

कृत्रिम ताललाई ‘आर्कषक ताल’ बनाउने योजना नगर जनप्रतिनिधिविहीन भएसँगै अस्तव्यस्त भएको थियो । बनेका भौतिक संरचना बिग्रिए, भत्किए, जीर्ण र वेवारिसे भएको स्थानीय जानकार धनबहादुर चन्द बताउँछन् ।

करिब तीन बर्षअघि संघीय सरकारको शहरी विकास मन्त्रालयले ६ करोड विनियोजन गरेर दुई वर्ष्भित्र निर्माण योजना पुरा गर्न लक्ष्यका साथ तालको पुनः निर्माण थालेको थियो । आयोजना क्षेत्र नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी र वडा नं. १८ कारकाँदोमा ६५ विगाहा क्षेत्रफलमा पर्ने चन्द बताउँछन् । आयोजनाले तालको सौन्दर्यकरण गर्नचारैतिर स्लोप, रेलिङ, फुटपाथ, ग्रीनबेल्ट लगायतका पूर्वाधार बनाउँदैछ । स्लोपमा दुबो र ग्राभेल त्यसमाथि रेलिङ, फुटपाथ र ग्रीनबेल्ट तयार हुने इन्जिनियर महेशकुमार थापा बताउँछन् ।

सरकारले २०६६ सालमा राजपत्रमा प्रकाशित गरेसँगै वाटरपार्क पुनःनिर्माण आयोजनाले वाटरपार्क जग्गा एकीकरण आयोजना लागू गरेको हो । वाटरपार्क परिसरमै सुविधा सम्पन्न ‘पिकनिक स्पट’ र ‘चिल्डे«न पार्क’ बन्नेछन् । यो‘पिकनिक स्पट’आर्थिक रुपमा सस्तो र सहज पहुँचको हुनेछ ।

नगरभित्रै ‘पिकनिक स्पट’ बनेपछि स्थानीयलाई चिसापानी कर्णाली, अगैया, बबई, ढकेरी, गाभरभ्याली जाने बाध्यता पनि हट्नेछ । आयोजनामा ‘रिप्लटिङ एरिया’, ‘ओपन स्पेस’ र वाटरपार्क ताल गरी तीन खण्डमा बन्दैछ । इन्जिनियर थापा ‘रिप्लटिङ एरिया’मा घरनिर्माण हुने बताउँछन् ।

वाटरपार्कमा फेवातालमा जस्तै डुंगामा सयर गर्न पाइनेछ । वाटरपार्क प्रवेशका लागि पुष्पलाल चोकबाट करिव ५० मिटर उत्तरमा सुशील नगर प्रवेशद्वार निर्माण भइसकेको छ । एकीकृत बस्ती हुँदै वाटरपार्क पुग्न ६ मिटरदेखि २१ मिटर चौडाइका साना ठूला थुप्रै बाटाहरु बनाइनेछन् ।
आयोजना क्षेत्रमा २ सय ८० जग्गाधनी छन् । त्यसभित्र करिव ७ सय वटा प्लट (घडेरी) तयार गरिएको छ । ६ मिटरदेखि २१ मिटर चौडा बाटोबाट कम्तीमा २४ प्रतिशतदेखि बढीमा ६३ प्रतिशतसम्म जग्गा अधिग्रहण गरिनेछ । अधिग्रहण बाहेकको जग्गा घडेरी हुनेछ । जहाँ सडक, ढल निकास, खानेपानी, बिजुली, हरियाली, खुल्ला मैदान र सामुदायिक क्षेत्रको सुविधा हुनेछ । आयोजनाभित्र सडकले नछोएको कुनैपनि कित्ता राखिएको छैन ।

२०५४ सालका मेयर डाक्टर धवलशम्शेर राणाा अहिले पनि मेयर नै छन् । १२ बर्षदेखि योजना अधुरै रहेपनि मेयर राणा वाटरपार्क नेपालगन्जको आकर्षक पर्यटकीय गन्तव्य बन्नेमा ढुक्क छन् । ‘वाटरपार्क पुनःनिर्माणका लागि बजेट अभाव हुँदैन’, उनी भन्छन, ‘अब वाटरपार्कले मुहार फेर्नेछ ।’ तर, कहिलेसम्म यो भने एकिन छैन् ।

वाटरपार्क निर्माण भएपछि नेपालगन्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुगा साबित हुनेछ वडाअध्यक्ष प्रमोद रिजालका भनाई हुन यी । तर, उक्त योजनामा रिजाल नै उदासिन देखिएको स्थानीयको आरोप छ ।

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने भनिएको थियो । पार्कमा आकर्षक र मनमोहक फूलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुने आश्वासन दिइएको पनि १२ बर्ष वितिसकेको छ एक स्थानीयले भने ‘खोई कामै हुँदैन् ।’

समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको नगर समितिका अध्यक्ष डाक्टर धवलशम्शेर राणा बताउँछन् । नगर विकासले परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गर्ने निर्णय समेत गरेको उनी बताउँछन् ।

उनकाअनुसार नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण हुनेछ । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार घरसंरचना निर्माण गर्नुपर्ने डाक्टर राणा बताउँछन् ।

वाटरपार्क संरचनाअन्तर्गत शुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । तर, जनप्रतिनिधीको राजगर्ने समय छोट्टिदैछ । कामले गति कहिले लिन्छ, वाटरपार्क कहिले मुहार फेर्छ । यो भने हेर्न बाँकी नै छ । कामना गरौ योजनाले समयमै उपलब्धि हासिल गरोस् ।