नेपालगन्ज : बाँकेको जमुनाह नाकाबाट भारत जानेको संख्या अधिक छ । वैदेशिक रोजगारी वा उपचारका निहुँमा दैनिक जसो दलालमार्फत थुप्रै नेपाली भारत गइरहेका छन् । प्रहरीले यसरी नेपाली नागरिक लैजाने दलाललाई पक्राउ समेत गर्दै आएको छ । तर, ९५ प्रतिशत दलाल कारबाहीबाट बचिरहेका छन् ।
शुरूमा पीडितले उजुरी दिएपनि अदालतमा पीडितले बयान फेरिदिने गर्दा यस्ता दलालहरू कानूनी कारवाहीबाट बचिरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
चालु आर्थिक वर्षमा बाँके प्रहरीमा मानव बेचबिखनका ५ वटा मुद्दा परेका छन् । पाँच जना पक्राउ परेका छन् । गतवर्ष २५ वटा मुद्दा थिए । त्यसमा ४३ जना पीडित थिए । ३४ जनालाई पक्राउ गरिएको थियो ।
एसपी ओलीकाअनुसार अघिल्लो वर्ष १८ वटा मुद्दामा २८ जना पीडित थिए । २९ जनालाई पक्राउ गरिएको थियो । तर, पक्राउ पर्ने व्यक्तिहरू अधिकांश भरिया मात्रै छन् ।
वैदेशिक रोजगारीका नाममा दलालले नेपाली नागरिकलाई विभिन्न वहानामा झुटो कागजपत्र बनाएर सीमानाका कटाउने गरेका छन् । बाँकेको जमुनाह नाकामा प्रहरी, मानव बेचबिखनविरुद्ध काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले नियमति पहरेदारी गर्दै आएका छन् । तर, नाकाको सुरक्षा अवस्था नाजुक भएकै कारण थुप्रै नेपाली यो वा त्यो निहुँमा दलालमार्फत भारत प्रवेश गरिरहेका छन् ।
महिला तथा बालिका जोखिमपूर्ण यात्रामा जाने क्रम रोकिएको छैन । दलालले कुनै न कुनै उपाय निकालेर महिला तथा बालिकालाई नाका पार गराइरहेका छन् । दलालले महिला तथा बालिकालाई भारतीय अस्पतालको विरामी ‘कागज’ बनाएर समेत लैजाने गरेको खुल्न आएको छ ।
दलालले बिरामीको बहाना बनाएर नेपालीलाई भारत लैजाने गरिएको सिमामा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधी बताउँछन् । तर, यसको रोकथाम तथा कडा निगरानीमा उनीहरू उदासिन देखिएका छन् ।
बैदेशिक रोजगारमा जाने या भारतमै जोखिमपूर्ण काममा लगाउन दलालले भारतीय अस्पतालको कागज बनाएर नाका पार गराउने गरेको भेटिएको माइती नेपालका केशव कोइराला बताउँछन् ।