नेपालगन्ज : सरकारले बाँकेका आठवटै स्थानीय तहमा प्रतितह एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने भएको छ । यस्ता पुस्तकालयलाई आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त बनाइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले सार्वजनिक गरेको शिक्षा नीतिमा उल्लेख छ ।
नीतिमा पुस्तकालयलाई जनोपयोगी, सेवामुखी र आत्मनिर्भर बनाउँदै लैजाने एवं यस्ता पुस्तकालयबाट स्थानीय तहका सबै वडाहरूमा स्याटलाईट तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गरिने छ ।
आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भसामग्री सहितका पुस्तकालयहरू स्थापना गरिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउँछन् ।
आजीवन सिकाइ तथा निरन्तर शिक्षाको लागि स्थानीय तहको प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकता अनुसार विस्तार तथा सुदृढीकरण गरिने पनि सरकारी योजना छ ।
अनौपचारिक तथ्यांक अनुसार अहिले मुलुकभर एक हजार पाँच सयको हाराहारीमा सार्वजनिक पुस्तकालय छन् ।