करोडौं लगातका खानेपानी ट्यांकी निर्माण भए, सदुपयोग भएनन्


करोडौं लगातका खानेपानी ट्यांकी निर्माण भए, सदुपयोग भएनन्

नेपालगन्ज: बाँकेका विभिन्न स्थानीय तहमा करोडौं लगानी गरी विगत चार बर्षदेखि दर्जनबढी खानेपानीको ओभरहेड ट्यांकी निर्माण गरिएका थिए । स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न नेपालगन्ज उपमहानगरपालिका लगायतका स्थानीय तहमा यस्ता ट्यांकी निर्माण गरिएको हो । तर, सरकारी उक्त लक्ष्यअनुसार अहिलेसम्म पनि ती ट्यांकीको सदुपयोग हुन सकेको छैन् । यसले सरकारको करोडौंको लगानी वालुवामा पानी झै भएको छ ।

तीन बर्ष लगाएर झण्डै पौने दुई करोड लागतमा ओभरहेड ट्यांकी निर्माण गरिए पनि सर्वसाधारणले अहिले पनि पिउने पानी पाएका छैनन् । खानेपानी वितरणका लागि पाइप विछ्याउने काम सम्पन्न भई परीक्षण समेत भइसकेको छ ।

नेपालगन्जको जयसपुरमा चार वर्षअघि खानेपानीको ओभरहेड ट्यांकी निर्माण गरिएको थियो । तर, वितरण नगर्दै जयसपुर खानेपानी योजना अलपत्र परेको छ ।

पानी वितरणको तयारी भए पनि विचमै रोकिएको जयसपुरका मुर्तजा अन्सारीले बताउँछन् । उनले वितरणका लागि परीक्षण भए पनि अहिलेसम्म काम अगाडी नबढेको बताए । उनका अनुसार, जयसपुर खानेपानी योजनाको रेखदेख एकजना चौकीदारले गर्दै आएका छन् ।

जयसपुरमा निर्माण भएको योजनाबाट झण्डै एक हजार दुई सयलाई खानेपानी पु¥याउन सकिन्छ । दुई सय २५ घनमिटरको ओभरहेड ट्यांकीको पानी कम्तीमा एक हजार परिवारलाई पिउने पानी वितरण गर्न सकिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।

जयसपुरको जस्तै खजुरा गाउँपालिका–१, राधापुरको खानेपानी योजना पनि अलपत्र छ । उक्त योजनाले सर्वसाधारणलाई पिउने पानी वितरण गरे पनि विद्युत महशुल बुझाउन नसक्दा बन्द भएको छ । विद्युत महशुल बुझाउन नसकेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटेको राधापुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवप्रसाद बुढा बताउँछन् । उनले उपभोक्ताबाट पानीको महशुल उठाउन नसकेपछि विद्युत महशुल बुझाउन नसकेको स्पष्ट पारेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जका डिभिजन प्रमुख भोलाप्रसाद थापाले संचालन भएका तीनवटा खानेपानी योजना बन्द भएको बताए । उपभोक्ताका कारण खानेपानी योजना बन्द भएको बताउँदै उनले यसै आर्थिक बर्षमा बन्द योजना पुनःसंचालन गरिने बताए ।

बाँकेमा निर्माण भइरहेका १० वटा खानेपानी योजना यसै आर्थिक बर्षमा सक्नेगरि काम भइरहेको डिभिजन प्रमुख थापा बताउँछन् । कुसुमको अम्बा खानेपानी योजना, कुसुम लिफ्ट खानेपानी, बैजनाथको पेडारी र नौबस्ता खानेपानी, कोहलपुरको बिराट र सम्शेरगञ्ज, कचनापुर तथा भवनियापुर खानेपानी योजना यसै आर्थिक वर्षमा पुरा हुने उनी बताउँछन् ।

बजेट अपुग भएका कारण पाइपलाइन विस्तारको काम पूरा हुन नसकेको डिभिजन प्रमुख थापाको भनाई छ । तीन–चार वर्षदेखि निर्माण भइरहेका योजनालाई यसै आर्थिक वर्ष भित्र निर्माण पूरा गरि सर्वसाधारणलाई शुद्ध पिउने पानी वितरण गर्नेगरि काम भइरहेको उनले बताए ।
बाँकेमा बजेट उपशिर्षक अन्तरगत प्रदेश सरकारको सघन खानेपानी विकास कार्यक्रम, केन्द्रीय सरकारको सशर्त अनुदान अन्तरगत उच्च प्रविधियुक्त खानेपानी कार्यक्रम र तराई–मधेस खानेपानी सुधार कार्यक्रम संचालनमा रहेको थापा बताउँछन् ।

उच्च प्रविधियुक्त अन्तरगत ३३ र तराई–मधेस अन्तरगत २४ र प्रदेश सरकारको बजेटबाट १३ योजना तथा १० आयोजना सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार, चालू आर्थिक वर्षमा ९ वटा ओभरहेड ट्यांकी र एउटा पम्पिङहेड ट्यांकी निर्माण गर्ने योजना छ । संघीय सरकारको उच्च प्रविधि र तराई–मधेस खानेपानी योजनाको बजेट प्रतियोजना एकदेखि १५ लाख विनियोजन भएको उनले बताए ।