पश्चिमी मौसम प्रणाली शुक्रबार फेरि भित्रिँदै


पश्चिमी मौसम प्रणाली शुक्रबार फेरि भित्रिँदै

नेपालगन्ज : मौसमविद्का अनुसार शुक्रबारबाट पश्चिमी वायु पुनः भित्रिनेछ । केही दिन रहने पश्चिमी वायुले चिसो थप बढाउने भए पनि वायुमण्डलमा भएको धुलोको कण पनि आफैंसँग लिएर जाने मौसमविद् बताँउछन् ।

तराईलगायतका अधिकांश भूभागमा लागेको बाक्लो हुस्सु र कुहिरो त्यसपछि मात्रै कम हुने छ । पश्चिमी वायुसगैं यतिखेर लागेको हुस्सु र कुहिरो सफा पार्नेछ । साथै पश्चिम भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको समेत महाशाखाको जनाएकोछ । बिहीबार बेलुका सम्म लागेको बाक्लो हुस्सु र कुहिरो जारी रहनेछ ।

पूर्वानुमान महाशाखाले मध्य र पश्चिमी पहाडी भूभाग लगायतका केही स्थानहरुमा समेत आज सामान्य हुस्सु र कुहिरो लागेको जनाएको छ ।
अहिले नेपालको पूर्वी भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको तथा दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । भोलि बिहीबार देशको पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र आउँदो शुक्रबार देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

यसअघि भित्रिएको पश्चिमी वायुका कारण नेपालगन्ज लगायतका क्षेत्रमा वर्षा समेत भएको थियो । वर्षासगैं मौसममा आएको परिर्वतनले यसक्षेत्रमा चिसो ह्वात्तै बढेकोछ । जसका कारण यसक्षेत्रको जनजिवन कष्टकर बन्दैगएकोछ ।