कार्यकाल सकिदैं, योजना अधुरै

सन्दर्भः नेपालगन्ज उवासंघ निर्वाचन


कार्यकाल सकिदैं, योजना अधुरै

File Photo

नेपालगन्ज : व्यवसायी नन्दलाल बैश्य नेतृत्वको नेपालगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीको कार्यकाल माघ ११ गतेदेखि सकिदैंछ । वर्तमान बैश्य नेतृत्वको कार्यसमितिले आगामी माघ ११ गते संघको चुनावी अधिवेशन आव्हान गरिसकेको छ ।

नेपालगन्जका व्यवसायीहरू आन्तरिक रूपले उक्त निर्वाचनको तयारीमा जुटसकेका छन् । आन्तरिक रूपमा गुटउपगुट बनाउँदै आगामी नेतृत्वका प्रत्यासीहरू मतदाता व्यवसायीको घरदैलो र भेटघाटमा व्यस्त देखिएका छन् । करिब तीनहजार दुई सय मतदाता रहेको उक्त संघमा अहिलेको निर्वाचन विगतको भन्दा उत्साहित र प्रतिस्पधी हुने देखिएको छ ।

वर्तमान अध्यक्ष बैश्य नेतृत्वको संघले गएको निर्वाचन पछि कार्यकाल सम्हाल्दै नेपालगन्ज्का व्यवसायीको हित र समग्र नेपालगन्जको औद्योगिक विकासका लागि थुप्रै महत्वकाक्षी योजना अघि सारेको थियो । जसमा सभाहल निर्माण,कारकाँदोमा घण्टाघर, त्रिभुवनचौकलाई व्यवस्थित गर्ने लगायतका धेरै योजनाहरू रहेका थिए । यी योजनाका बिषयमा यसअघि पनि बेलाबखतमा चर्चापरिचर्चा नभएको होइन् ।
अध्यक्ष बैश्यले आफनै कार्यकाल यी सबै योजना पुरा गर्ने अठोट लिएका थिए । तर, महत्वकाक्षीका रूपमा देखिएका यी तीनवटै योजना अहिलेपनि अलपत्र छन् ।

यी योजनामा संघले अहिलेसम्म एकरथी काम अघि बढाउन सकेको देखिदैन् । सभाहल निर्माणका लागि सम्बन्धीत मन्त्रालयले जमिन समेत उपलब्ध गराईसकेको थियो । तर, संघकै उदासिनता लापरवाहीले अहिले उक्त जमिन समेत सरकारले फिर्ता लगिसकेको छ । सभाहल निर्माणस्थलमा संघले तीन बर्षको अवधीमा तीनप्रतिशत पनि काम गर्न चासो देखाएन् ।

सभाहल निर्माणका लागि भन्दै संघले पटक÷पटक मेला÷महोत्सव लगाएर केही करोड रूपैयाँ समेत संकलन गरेको थियो । उक्त रकम अहिले वेवारिसे अवस्थामा रहेको छ । स्मरणहोस् संघले यी मेला महोत्सवबाट भएको आम्दानी र खर्चको विवरण भने अहिलेसम्म पारदर्शी रूपमा सार्वजनिक गर्न सकेको छैन् । यसले पनि उक्त संकलित रकममा गढबढ भएको हुनसक्ने आशंका कायमैछ ।

बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेरसंघले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । संघका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन संघले प्राप्त गरेको थियो ।

जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै संघले महोत्सव आयोजना गर्दै आएको छ । तर, सभागृह र प्रदर्शनीस्थल निर्माणको टुगोे भने बैश्य नेतृत्वको समितिले समेत लगाउँन सकेन् । तत्कालीन समयमा करीब ३५ करोडमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो । तर, अहिले पूर्ववत योजनाअनुसार नै सभागृह र प्रदर्शनीस्थल बनाउने हो भने पनि ५० करोडसम्म खर्च हुने देखिन्छ ।

महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ यहाँका राजनीतिक दलको असहयोगका कारण निर्माणमा समस्या भइरहेको बताउँछन् । उद्योगी व्यवसायीले मात्रै आवश्यकता महसुस गरेर हुँदोरहेनछ उनले भने ‘राजनीतिक सहयोग पनि आवश्यक छ । तर, यहाँका राजनीतिक दलले आवश्यकता महसुस नगरिदिँदा समस्या भएको छ ।’

संघको अर्को महत्वकाक्षी योजनामा कारकाँदोमा घण्टाघर निर्माण रहेको थियो । यसका लागि संघले संघकै उपमहासचिव तारा रोकायको संयोजकत्वमा निर्माण समिति गठन समेत गरेको थियो ।

उक्त समितिले घण्टाघर निर्माणका लागि थोरै भएपनि पहल भने गरेको थियो । तर, घण्टाघर निर्माण यहाँका नेवार समुदाय र वडा नम्बर १८ को असहमतिका कारण उक्त योजना अहिलेपनि अघि बढ्न सकेको छैन् । समितिले पनि यो र त्यो निहुँमा निर्माण प्रक्रियाका लागि थप पहलकदमी अघि बढाउन चासो देखाएको छैन् ।

कारकाँदोमा घण्टाघर निर्माणका लागि डिपिआर पनि तयार भइसकेको छ । निर्माण कम्पनीसँग सम्झौता भएको छ । ६० लाखमा निर्माण हुने घण्टाघर ५० फिट अग्लो हुनेछ । घरको चारैतर्फ डिजिटल घडी राखिनेछ । भुइँतलामा ट्राफिक र प्रहरी बस्ने व्यवस्थासहितका संरचना निर्माण गर्ने डिजाइन छ । तर, यसरी डिजाइन र योजना बनाएको वर्षौं बित्दा पनि कामले गति लिने छाँटकाँट छैन ।

कारकाँदो चोकलाई २०५६ सालदेखि राष्ट्रिय विभूति शंख्धर साख्वा चोक बनाउने र त्यहाँ साख्वाको शालिक राख्ने पहल भइरहेको थियो । तर, केही वर्षयता संघले त्यहाँ घण्टाघर बनाउने निर्णय गर्दै उपमहानगरपालिकासँग अनुमति प्राप्त गरेको संघका अध्यक्ष वैश्य बताउँछन् । तर, साख्वाको सालिक स्थापना गर्ने वा घण्टाघर बनाउने भन्नेमा त्यतिबेला उत्पन्न विवाद अहिले पनि कायमै छ । घण्टाघर बीचमै साख्वाको सालिक राख्ने भन्नेबारे सम्बन्धित पक्षसँग चलेको छलफल निचोडमा पुग्न सकेको छैन ।

नेपालगन्जको मुटुका रूपमा रहेको त्रिभिुवनचौक मर्मत, सुधार र व्यवस्थापनका लागि पनि संघकै अध्यक्ष बैश्य नेतृत्वको एक टीमले चासो देखाएको थियो । उक्त स्थान सुधारका लागि उपमहनागरपालिकाले पनि अनुमति दिएको थियो ।

तर, स्थानीयको विरोधपछि उपमहानगरपालिकाले अनुमित रद्द गरेको संघका अध्यक्ष बैश्य बताउँछन् । उपमहानगरपालिकाले आफ्नै निर्णय उल्टाएर अनुमित र सहमित रद्द गरेपछि त्रिुवनचोक मर्मत, सम्भार र व्यवस्थापनका लागि आएको एक करोड अनुदान अहिले वेवारिस भएको संघका अध्यक्ष बैश्य बताउँछन् । आफू चोक व्यवस्थापनमा लागेको उक्त चौकमा नेपालको झण्डा फरफराउने पवित्र लक्ष्य रहेपनि उपमहानगरपालिकाको अवरोधले अहिले काम रोकिएको उनले बताए । उपमहानगरले अनुमति दिए भोलीबाटै काम शुरू हुन्छ अध्यक्ष बैश्यले भने ‘यसका लागि एक करोड बजेट छ ।’

अध्यक्ष बैश्यले आफ्नै कार्यकलामा सभाहल, घण्टाघर लगायतका योजना निर्माण पुरा गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएपनि विविध कारणले अहिलेको कार्य समितिले यी योजना पुरा गर्न नसकेको स्वीकार्यका छन् । अहिले यी योजना अधुरै रहेपनि यसपछिको नयाँ कार्यसमितिमा आफू निवर्तमान अध्यक्षका रूपमा रहने हुँदा यी योजना पुरा गर्न अहम भूमिका खेल्ने अध्यक्ष बैश्य बताउँछन् ।