नेपालगन्ज : सरकारी जहाज भएकाले यात्रु त्यही विमानमा उडान गर्न रुचाउँछन् । उक्त हवाइ जहाजको नेपालगन्ज बेस छैन । हवाइ जहाज काठमाडौंदेखि आउँछ । यात्रुले समयमै जहाज पाएका छैनन् ।
यसले यात्रु र्मामा छन् । तर, सरकारी नेपाल एयरलाइन्स यस बिषयमा उदासिन छ । नागरिकलाई छिटोछरितो र भरपर्दौ सेवा प्रदान गर्नेमा उसको ध्यान जान सकेको छैन् ।
एयरलाइन्सको दुर्गम क्षेत्रमा फ्लाइट कम छ, त्यसमा पनि जहाज बिग्रिने, टेक्निकल समस्या देखाउँदै उडान निकै कम हुने गरेको नागरिक उडड्यन प्राविधकरणका निर्देशक प्रेमनाथ ठाकुर बताउँछन् ।
नेपाल एयरलाइन्सका पुराना जहाजका कारण उडानमा समस्या आएको बुझिएको छ । नेपाल एयरलाइन्समा इन्जिनियरका रूपमा कार्यरत रोहित यादवका अनुसार नेपाल एयरलाइन्समा २० बर्षअघिका जहाज अहिले पनि चलेका छन् ।
यस्ता दुई दशक पुराना र जीर्ण जहाजलाई लाखौं खर्चेर मर्मत गरी उडान योग्य बनाएपनि केही दिनमै बिग्रने र क्षमता विस्तार पुरानै समस्या कायमै रहने गरेको छ । नेपालगन्जदेखि दुर्गम ताल्चा, डोल्पा, बाजुरा, जुम्ला, सिमीकोट, चौरजहारी, रुकुम, साँफेबगर गरी आठ सेक्टरमा उडान हुने नेपाल एयरलाइन्सको साउन, भदौ र असोज महिनाको फ्लाइट सेड्युल दुई सय २१ पटक थियो ।
जसमा मौसमको खराबी, जहाज बिग्रिएको र यात्रुको सख्या कम भएको कारण देखाउदै तीन महिनामा ५४ पटक फ्लाइट उडान क्यान्सिल भएको एयरलाइन्स नै बताउँछ । नेपाल एयरलाइन्सले बाँकेको नेपालगन्जबाट यस क्षेत्रका दुर्गम जिल्लामा प्रभावकारी हवाई सेवा दिन नसक्दा यहाँका हवाई यात्रुहरू समस्यामा परेका छन् ।
एयरलाइन्सको हप्तामा दुई दिन उडान हुने भएपनि अधिकांश क्यान्सिल हुने गरेका छन् । यो वा त्यो वहानामा क्यान्सिल हुने उडानले यस क्षेत्रका नागरिकले एकदमै सास्ती भोग्दै आउनु परेको छ ।
कहिले मौसमका कारण त कहिले पाइलटले उड्नमा चासो नदिदाँ उडान निरन्तर हुन नसकेको खुलासा भएको छ । अहिले मौसमका कारणले उडान नभएको बताएपनि डोल्पा आइएफआर नहुँदा उडान रोकिने गरेको नेपाल एयरलाइन्सका नेपालगन्जस्थित स्टेसन म्यानेजर शंकरबहादुर केसी बताउँछन् । तर, यी क्षेत्रमा नीजि हवाई जहाजले दैनिक उडान गरिरहेका छन् ।
नेपालगन्ज विमानस्थलदेखि सिधै दुर्गम उडान हुने निजी जहाज तारा, सीता, समिट छन् । तर, सरकारी निकायको जहाज नेपाल एयरलाइन्सले मौसमको समस्या देखाउँदै उडान गर्न छोडेको छ ।