नेपालगन्ज: आज नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको हो ।
आगामी २४ घण्टा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने र पूर्वी र मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो देखिएकोले ती स्थानहरुमा राम्रोसँग घाम नलाग्ने हुँदा तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जनाइएको छ ।
मध्य र पूर्वी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम, मध्य र पूर्वी तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो आज बेलुकासम्ममा हट्ने पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
पश्चिमी वायुको प्रभावसगैं यतिवेला नेपालगन्ज लगायतका तराईक्षेत्रमा चिसो बढेकोछ । चिसोका कारण जनजिवन प्रभावित समेत बनेकोछ । चिसोबाट बच्ने उपाय अपनाउन चिकित्सक सुझाव दिन्छन् ।
चिसोका कारण विशेषगरि स्कुले बालबालिका, बृद्धबृद्धा, विरामीहरु बढि प्रभावित हुनेभएकाले सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेकाछन् ।
चिसोका कारण यतिवेला बाँकेका विद्यालयहरु सञ्चालनमा छन् । कतिपय विद्यालयमा अर्धवार्षिक परीक्षा समेत चलिरहेकोछ । विहान सवेरैदेखि बाक्लो हुस्सु र कुहिरोले चिसो बढेको छ ।
यतिबेला नेपालगन्जमा घाम नदेखिएपनि आकाश केही खुल्ला भएतापनि बादल लागेकोछ । बादलसगैं चिसो हावा पनि चलिरहेकोछ । अन्य दिनभन्दा नेपालगन्जमा सर्वसाधरणको उपस्थिती न्यून छ । चिसो छल्न नेपालगन्ज बजारक्षेत्रमा सडकमै आगो बालेर सर्वसाधरण आगो तापिरहेकाछन् ।