वन कार्यालयका भौतिक संरचना जीर्ण


वन कार्यालयका भौतिक संरचना जीर्ण

सांकेतिक तस्विर

नेपालगन्ज : बाँकेमा रहेको अधिकांश वन कार्यालयका भवन जीर्ण बन्दै गएका छन् । सम्बन्धीत निकायले यसको मर्मत सम्भार तथा सुधार गर्न चासो देखाएको छैन् ।

जीर्ण भवनका कारण कर्मचारीलाई काम गर्न समस्या भइरहेको डिभिजन वन कार्यालय नेपालगन्जका प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।
उनकाअनुसार बाँकेमा एउटा डिभिजनसहित वनका ६ वटा सेक्टर कार्यालय छन् ।

जसमा अधिकांश कार्यालय जीर्ण छन् । डिभिजन कार्यालय नै प्रयाप्त छैन् । यहाँ रहेका ६ वटा भवनमा दुईवटा मात्रै कार्यालय प्रयोजनमा छन् । चारवटा क्वाटरका रूपमा रहेका छन् ।

बाँकेको कोहलपुर, शम्सेरगन्ज, सिक्टा लगायतका चार ठाउँमा आफनै भवन छन् । उनले भने ‘तर, यी सबै भवन जीर्ण छन् । जीर्ण भवनकै कारण कर्मचारी रातमा बस्न त परै जाओस् दिउँसैपनि भवन भत्किने त्रासमा हुन्छन् । यसले एकदमै समस्या भएको छ ।’

नरैनापुरमा भवन अभाव छ उनले भने ‘बजेट छैन बनाउने पनि डिभिजनको योजना छैन् ।’ यहाँका कर्मचारी भाडाको घरमा बस्न बाध्य छन् ।
कर्मचारीहरुले कार्यालयमा काम गरिरहँदा भवन भत्कने त्रासका विच चनाखो बनेर काम गर्नुपर्ने बाध्यता छ । अधिकांश वन कार्यालयका भवनको ढलान खस्ने, भित्ता चर्किएर धमिरा लागेको, बर्षातमा पानी चुहिने र हावाहुरीले टिन र टायलका छत उडाउने समस्या कायमै रहेको छ । डिभिजन प्रमुख श्रेष्ठकाअनुसार बाँकेको वन कार्यालय भौतिक संरचनाका हिसाबले नाजुक छ । केन्द्रमा भौतिक संरचना निर्माणका लागि पहल गरिएको छ ।

केन्द्रले बजेट अभाव देखाउँदै आएपछि जसोतसो भत्किएकै भवनमा त्रसित भएरै सेवा प्रदान गर्नुको विकल्प नभएको उनी बताउँछन् ।
अधिकांश सेक्टर कार्यालयमा कर्मचारीलाई सुत्ने, खानेपानी र चर्पीको समेत समस्या हुँदै आएको छ । सेवाग्राहीको चाप धेरै हुने कोलहपुर पनि २६ वर्ष पुराना भवनको भरमा छ । डिभिजन कार्यालयले मर्मतमा चासो नदेखाउँदा हाँका भवन जिर्ण बनिसकेका छन् ।

सेक्टर कार्यालय कोहलपुरको पूराना कार्यालयका सबै भवनका भित्ता चर्किएका, धमिरा लागेका, छत हावाले उडाएका, काठ सरिया चोरी भएको अवस्थामा छन् । बैजापुरमा भएका भवन समेत जीर्ण र जोखिमपूर्ण अवस्थामा छन् । भवन नभएपछि कर्मचारी कार्यालयमा आउनै छाडेका छन् । सरकारी निकाय सक्षम र सबल बन्न त्यसका आधारभूत संरचना र भौतिक अवस्था चुस्तदुरूस्त हुन आवश्यक रहेको डिभिजन प्रमुख श्रेष्ठको भनाई छ ।

बाँकेको डिभिजन वन कार्यालय अन्तर्गत ६ वटा सेक्टर कार्यालय छ । जस अन्तर्गत १४ इलाका कार्यालय छन् । बाँकेमा एक सय ११ वटा सामुदायिक वन रहेको
रेकर्डमा उल्लेख छ ।