नेपालगन्ज : बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । यसको रोकथामका लागि बाँके ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान थालनी गरेकोछ ।
ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले तीब्र अभियान थालेको बाँकेका ट्राफिक कार्यालयका प्रमुख पविन्द्र बम बताउँछन् । तर, नेपालगन्जमा रहेको ट्राफिक कार्यालयले भने यस बिषयमा उदासिनै देखिएको छ ।
दुर्घटना नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिका प्रशिक्षण दिने कार्यक्रम अघि सारेको प्रहरी निरीक्षक बम बताउँछन् ।
सडक यात्रु, विद्यार्थी र सवारी चालकलाई लक्षित गरी प्रशिक्षण दिन थालेको उनको भनाई छ । बाँकेका विभिन्न ठाउँमा ट्राफिक संकेत राखेको र त्यसलाई पालना गराउन प्रशिक्षण दिइरहेको उनले बताए ।
दुर्घटना न्यूनीकरणका लागि यसअघि ‘रेट्रो स्टिकर’ सवारी साधनमा टाँस्ने, दुर्घटना गर्ने सवारीसाधनको पहिचानका लागि मेटिएका नम्बर प्लेट पुर्नलेखन गर्ने, मोडिफाइ गरिएका मोटरसाइकललाई दुरूस्त बनाउन लगाउने लगायतको काम गरिसकेको उनी बताउँछन् ।
ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमै घुम्ती प्रशिक्षण, यातायात व्यवसायीलाई सवारी दुर्घटनासम्बन्धी जानकारी गराई चालक तथा सवारीधनीलाई सचेत समेत बनाएको उनी बताउँछन् । उनकाअनुसार रात्री सेवाका बसमा दुई जना चालक अनिवार्य गर्न ट्राफिक कम्प्युनिकेशन एपको समेत प्रयोग गरिएकोे छ ।
यसैगरी चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा परी ६० जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा चौपायाको समेत मृत्यु भएको छ । चालू आवको पाँच महिनामा १० पशु चौपायाको दुर्घटनामा परी मृत्यु भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जिल्लामा दुर्घटनाका ८६ घटना भएका छन् । जसमा ७३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।
पाँच महिनाको अवधिमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । उक्त अवधिमा १ सय ११ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । छ वटा ट्रक, एउटा टिपर, ११ जीप, दुई ट्र्याक्टर, चार वटा टेम्पो र छ वटा साइकल दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।
आव २०७५/०७६ मा बाँकेमा ९९ दुर्घटना भएका छन् । बाँकेमा गत आवमा भएका दुर्घटनामा ६० ले ज्यान गुमाएका थिए । ७५ जना गम्भीर घाइते भएका थिए ।