डुडुवा गाँउपालिकामा शिक्षक माग गर्दै सरस्वती मावि बनकट्टिका विद्यार्थी । तस्विर सौजन्य: डुडुवा गाँउपालिका
नेपालगन्ज : संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । तर, सरकारी उदासीनताका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् ।
उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसईई आउन तीन महिनामात्रै बाँकी भए पनि बाँके जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् ।
बाँके डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले यहाँका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाई समेत हुन सकेको छैन् ।
गाउँपालिकाको राष्ट्रिय मावि बनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्ण रूपमा बञ्चित भइरहेका छन् । पट–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहि कतैबाट व्यवस्थापन हुन नसकेको बुझिएको छ ।
२०६६ सालमा मावि तहको पढाइको सुरु गरेको विद्यालयमा मावि तहमा एकजना पनि शिक्षकको दरबन्दी नै छैन । शिक्षक अभावमा यहाँ विद्यालयमा कार्यरत तल्ला तहका शिक्षकले बाध्यताबश कक्षा ९ र १० विद्यार्थीलाई पढाइरहेका छन् । एसईईको तयारीमा रहेका केही विद्यार्थी बाहिर ट्युसनको भरमा स्वःअध्ययन गरिरहेका छन् ।
शिक्षक अभावमा आजित यहाँका विद्यालयले शुक्रबार गाउँपालिका घरोउ हालेका छन् । गाउँपालिकामा विद्यालयको पोशाकसहित पुगेका विद्यार्थीले तत्काल विद्यालयमा शिक्षक उपलब्ध हुनुपर्ने माग राखेको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी बताउँछन् ।
गाउँपालिका अध्यक्षसँग विद्यार्थीले पढाइ नै नभएर आफूहरूको परीक्षाको नतिजा राम्रो नआउने गरेको गुनासो गरेका छन् । यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने भन्दै विद्यार्थी विद्यालयका प्रअसहतिको टोली समक्ष तत्काल शिक्षकको माग गरेका छन् । परीक्षा आउन अढाइ महिना जतिमात्रै बाँकी रहेको छ । तर, उक्त विद्यालयमा गणित, विज्ञानलगायत मुख्य विषय हालसम्म पढाइ नै भएको छैन ।
उक्त विद्यालय स्थापनाकालदेखि दरबन्दी बिहीन छ । हरेक वर्ष शिक्षक माग गर्दै आए पनि शिक्षा कार्यालयको उदासिनताले अहिलेसम्म दरबन्दी पाउन नसकिएको विद्यालयका प्रअ मोहम्मद हुसेन खाँ बताउँछन् ।
सजिलो विषय तल्लो तहका शिक्षकले पढाउने गरे पनि विज्ञान, गणितलगायतका विषय शिक्षक अभावमा पढाइ हुनै नसकेको उनी बताउँछन् । शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष चौधरी बताउँछन् ।