नेपालगन्ज: आज आईतबार । हप्ताको पहिलो दिन । पुष महिनाको ६ गते एकादशी अनि अङ्ग्रेजी डिसेम्बर महिनाको २२ तारिख । सधैंझै आज तपाईले गर्नुपर्ने कामहरु नै हुन् । तपाईसंग यही सानो जानकारी छ । तर, तपाईलाई आज वर्षकै सवैभन्दा सानो दिन हो भन्ने थाहा नहुनसक्छ । हो आज वर्षकै सवैभन्दा सानो दिन हो ।
खगोलविद्का अनुसार हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ । तर, पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ ।
वर्षको सबैभन्द छोटो दिनलाई ‘विन्टर सोल्सटाइस’ भनिन्छ । हामीलाई थाहा भएको कुरा के भने जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै, यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।
‘विन्टर सोल्सटाइस’ले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।
अब सोल्सटाईसका बारमेमा पनि केही जानकारी लिऔं । सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो । जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ । सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिने बताइन्छ । यो एक खगोलीय घटना हो । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ ।
आजकै दिन आयरल्याण्डमा मानिसहरु पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुने गर्छन् । साथै, चीनमा यसलाई ‘डोंग्जी फेस्टिबल’को रुपमा मनाइन्छ ।