डोजर लगाई घरटहरा भत्काउदाँ बेहोस भई घाइते भएकी महिला । तस्विर: सेतोखरी
नेपालगन्ज: बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको सरकारी जमिन खाली गर्ने निहुँमा वडाअध्यक्ष कृष्ण कार्कीले आफ्नै मतदातालाई घाईते बनाएको खुलेको छ ।
अध्यक्ष कार्कीको निर्देशनमा विकल्पबीनै यहाँ रहेका सुककुम्बासीका घरटहरामा डोजर लगाएपछि यहाँकी एक महिला घाइते भएको खुलेको हो । वडापालिकाले विकल्पबिनै यसरी सुकुम्बासमाथि प्रहरी लगाएर दादागिरी मच्चाएको उनीहरूको आरोप छ ।
आर्दश माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गर लगत्तै बिनाबिकल्प वडाअध्यक्षले काम देखाउँने र चर्चामा आउने बहानामा केही स्थानीय मिडियाको आडमा काँखी च्यापेर उक्त बस्तीमा डोजर लगाउन निर्देशन दिएको खुल्न आएको छ ।
विद्यालयको नाममा लालपूर्जा रहेको कित्ता नम्बर २, ३ र ८ को तीन विगाह सात कठ्ठा १४ धुर जग्गाका बारे विद्यालय अहिलेसम्म मौन बसिरहेको थियो ।
सुकुम्बासीका नाममा जग्गा अतिक्रमित भएपछि विद्यालयका नियमित गतिविधि सञ्चालनमा समस्या भएको भन्दै विद्यालयले गृह मन्त्रालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि परिपत्र गरेको थियो । तर, बिकल्पबिना डोजरै लगाउँनु भन्ने आदेश कहि कतैबाट नभएको बाँके प्रशासनले जनाएको छ ।
तर, वडाअध्यक्ष कार्कीले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले अतिक्रमित जग्गामा बनाइएका खाली घर र भाडाका घर ७ दिनमा र अन्य घरहरु १५ दिनमा खाली गराउने निर्णय गरेको बताएका छन् । उद्यपी उनले घरटहरामा डोजर लगाउने निर्ण भए ÷नभएको बारे अनबिज्ञता जनाएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले दादागिरी शैलीमा गायत्रीनगरमा सुकुम्बासीमाथि आक्रमण गरेको थियो । ती सुकुम्बासीले मत दिएर जिताएका वडाअध्यक्ष कार्कीको निर्देशनमा गायत्रीनगरका सुकुम्बासीका घरटहरामा डोजर लगाएर भत्काइएको स्थानीयले बताएका छन् ।
वडाअध्यक्ष कार्कीको दादागिरीशैली र प्रहरीको ज्यादतीमा आर्दश माध्यमिक विद्यालय राँझाको जमिनमा बनाइएका घरटहरामा विकल्पबीनै डोजर लगाईएको स्थानीयको आरोप छ । सुकुम्बासीले ओगटेको जमिन सरकारी नियन्त्रणमा वा स्वामित्वमा लिनु ठिकै होला तर, घरटहरा बनाएर बसिरहेका नागरिकको अर्को विकल्प नदिएर यसरी उठिबास लगाउनु कुनै पनि हालतमा वडाअध्यक्ष कार्कीको सकारात्मक काम नभएको मनिकापुरका जानकारहरू बताउँछन् ।
‘यहाँ १४ घरगोठमा डोजर चलाइएको छ । विद्यालयको आग्रहमा वडा कार्यालयले ती घरगोठ भत्काएपनि यहाँका सुकुम्बासीलाई विकल्प दिनुपर्ने थियो’ राँझाका एक व्यवसायीले भने ‘विकल्पबीनै एक्कासी यसरी चिसो मोसममा घरटहरामा डोजर लगाउनु मानवीय काम भएन् ।’ यहाँ तीन विघा सात कठ्ठा १४ धुर जग्गामा वर्षौंदेखि सुकुम्बासी र भूमिहीनका नाममा ७६ घरपरिवार बस्दै आएका थिए ।