पत्रकार कुट्ने गुण्डाको संरक्षणमा नेकपाका नेता भुषाल


पत्रकार कुट्ने गुण्डाको संरक्षणमा नेकपाका नेता भुषाल

पत्रकार कुट्ने गुण्डालाई संरक्षण गर्ने नेकपाका नेता खिलप्रसाद भुषाल

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका जिल्ला कमिटी सदस्य खिलप्रसाद भुषालले पत्रकारमाथि सांघातिक आक्रमण गर्नेलाई बचाएरै छाड्ने बताएका छन् ।

बाँकेको कोहलपुरमा आईतबार साँझ पत्रकार संगिन शर्मालाई युवाहरुको एक समुहले सांघातिक आक्रमण गरेको थियो । सोही बिषयलाई लिएर ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेका नेता भुषालले पत्रकारमाथि विभिन्न आरोप लगाउदै पत्रकारलाई आक्रमण गर्ने गुण्डालाई बचाउन लागिपर्ने बताएका हुन् ।

‘पत्रकार हुँ भन्दैमा गरिबका छोराहरुलाई गुण्डा हो भन्दै लेख्ने’ उनले, ‘पत्रकारलाई आक्रमण गर्ने दलित गरिबका छोरा कसरी गुण्डा हुनसक्छन् ।’
‘पत्रकारलाई आक्रमण गर्ने रमेश मिजार र दिपेन्द्र कुँवरको पक्षमा म वकालत गर्छु’ नेकपा जिल्ला कमिटी सदस्य भुषालले भने, ‘तपाईहरु समाचार लेख्दा पनि हुन्छ ।’

उनले पत्रकारले गरिबको समाचार नलेख्ने र धनीको मात्र समाचार लेख्ने भनेर गम्भीर आरोप समेत लगाएका थिए । जिल्ला कमिटी सदस्य भुषालको भनाईमा त्यहाँ उपस्थिति रहेका पत्रकारले गम्भीर आपत्ति जनाएपछि उनीलाई त्यहाँ रहेका अन्य नेकपा नेताले प्रहरी कार्यालय बाहिरतिर लगेका थिए ।

पत्रकारमाथि सांघातिक आक्रमण गर्नेहरुलाई प्रहरी कार्यालय भित्रै गएर जोगाउन लागिपर्छु भन्ने अभिव्यक्ति दिनेलाई समेत कानूनी कारबाही गर्न बाँकेका क्रियाशिल पत्रकारले माग गरेका छन् ।