पत्रकारमाथि आक्रमण, महासंघ उदासिन


पत्रकारमाथि आक्रमण, महासंघ उदासिन

नेपालगन्ज : बाँकेको कोहलपुरमा पत्रकार संगीन शर्मा नेकपा प्रदेश तहका नेताको निर्देशनमा गुण्डाहरूबाट कुटिएका छन् । पत्रकार शर्माको टाउको, नाक र आँखाको तलतिर चोट लागेको छ । उनी घाईते अवस्थामा छन् । तर, नेपाल पत्रकार महासंघ बाँकेका शाखा सोमबार विहानसम्म यस बिषयमा अनभिज्ञ देखिएको छ । घाइते पत्रकार शर्मा महासँघ बाँके शाखाका कार्य समिति सदस्य पनि हुन् ।

आईतबार दिउँसो कुटपिटबाट शर्मा घाइते भएपनि सोमबार विहान दश बजेसम्म महासंघले उनको सुरक्षा र दोषीमाथि कारबाहीका लागि आवाज उठाएको छैन् । पत्रकार महासंघ बाँके शाखा सोमबार विहानसम्म यस बिषयमा मौन बसिरहेको बाँकेकै पत्रकारहरू बताउँछन् ।

पत्रकार माथि यो वा त्यो कुनैपनि बहानामा जो सुकैबाट हुने आक्रमण महासंघलाई स्वीकार्य नहुने नेपाल पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चोलागाई बताउँछन् । उनकाअनुसार पत्रकार शर्मामाथि आक्रमण गर्ने/गर्न लगाउँने जो कोहीको पहिचान गरी तत्काल दोषीमाथि कारावही अघि बढाउनुपर्ने र पत्रकारको सुरक्षा ग्यारेन्टी गनुपर्ने देखिएको छ ।

महासंघका सदस्य शर्मामाथि कुटपीट गर्न निर्देशन दिने पुजन विक नेकपाका प्रदेश कमिटी सदस्य हुन् । सत्तामा आफनै पार्टी रहेका बेला शक्तिको आड देखाउँदै विकले पत्रकार शर्मामाथि पाटीका केटाहरू लगाएर कुटपीट गरेको कोहलपुरका पत्रकारहरू बताउँछन् ।

नेकपा बाँकेका जिल्ला कमिटी सदस्य खिलप्रसाद भुषालले पत्रकार कुट्ने गुण्डाको बचाउ गर्दै संरक्षण दिएको घटनाले पनि नेकपाकै ठूलो गिरोह आफै पार्टी निकट प्रेस संगठन आबद्ध पत्रकार शर्मामाथि आक्रमणमा उत्रिएको अनुमान गरिएको छ ।

यस बिषयमा नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदीप वाग्लेसँग बुझन खोज्दा उनले सोमबार दिउँसो दुई बजे महासंघको बैठक बसेपछि मात्रै धारणा सार्वजनिक गर्ने बताएका छन् । उनकाअनुसार सोमबार साढे दश बजेसम्म यस बिषयमा महासंघमा कुनै छलफल र बहस हुन सकेको छैन् ।

महासंघसँगै उनी आबद्ध रहेको प्रेस संगठन र प्रेस यूनियन लगायतका सञ्चारसँग आबद्ध संस्थाहरूले समेत एउटा बिज्ञप्ती समेत सार्वजनिक गर्न चासो देखाएका छैनन् ।