नेपालगन्ज : बाँकेको नेपालगन्जमा निर्माणाधिन कृषि ज्ञान केन्द्रको साढे दुई करोडबढी लगातको संरचना अझै अलपत्र अवस्थामा छ । तत्कालिन कृषि विकास कार्यालय हुँदा निर्माण शुरू गरिएको उक्त भवन अहिलेसम्म पनि निर्माण पुरा हुन सकेको छैन् । उक्त भवनको लागत रकम दुई करोड ८७ लाख छ ।
कृषि विकास कार्यालय खारेजीसँगै निर्माण कम्पनीको लापरवाही, ढिलासुस्ती र ज्ञान केन्द्रको उदासिनताले उक्त सरकारी भवन वेवारिसे अवस्थामा रहेको छ । उक्त भवनका लागि विनियोजन गरिएको बजेट समेत वेवारिसे देखिएको छ ।
गएको वर्ष नै निर्माण पुरा भइसक्नुपर्ने उक्त भवन अन्यौलताले काम रोकिएको मात्रै नभई वेवारिसे नै भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ठेक्का गरिएको उक्त भवन २०७५÷०७६ मा पुरा गर्नुपर्ने दुईपक्षिय सम्झौता थियो । गाल्भा जेभी भट्टराईले ठेक्का लिएको उक्त भवन निर्माणको काम नीतिगत अन्यौलताका कारण अघि बढ्न नसकेको ज्ञान केन्द्रका प्रमुख सागर ढकाल बताउँछन् ।
संघले भवन निर्माणको जिम्मा प्रदेश सरकारलाई दिएको उनी बताउँछन् । तर, प्रदेश सरकार समेत यस बिषयमा वेखबर देखिएको छ । उनकाअनुसार ठेकेदारले काम नगरी अहिलेसम्म एक करोड रकम लगिसकेका छन् ।
उनले भने ‘दुई करोड ३० लाखजति बजेट आवश्यक छ । प्रदेश सरकारसँग माग गरिएको छ । ठेकेदारले बजेट निकासा भए काम गर्छु भनेका छन् ।’