पत्रकार कुटपिट प्रकरण: दोषीमाथि कारबाहीको माग


पत्रकार कुटपिट प्रकरण: दोषीमाथि कारबाहीको माग

नेपालगन्ज:बाँकेको कोहलपुरमा कार्यरत क्रियाशिल पत्रकार संगिन शर्मामाथि आक्रमण गर्ने/गराउनेमाथि तत्काल कारवाहीको माग गरिएको छ । कुटपिट गर्न लगाउने नेकपाका प्रदेश सदस्य पुजन विक र कुटपिटमा संलग्न उनका युवा तथा उनीहरूलाई बचाउन सहयोग गर्ने नेकपाका नेता खिलप्रसाद भुषालमाथि कारवाहीको माग गर्दै कोहलपुरका पत्रकारहरुले स्थानीय प्रहरी प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय सरकार र प्रहरी प्रशासनलाई सांघातिक आकक्रमण गर्ने व्यक्तिलाई २४ घण्टा भित्र कानूनी दायरामा ल्याउन माग गरिएको छ । पत्रकारमाथि आक्रमण गर्ने व्यक्तिको बचाउमा लागी पत्रकारलाई नै अभद्र व्यवहार गर्ने नेकपाका नेता खिलप्रसाद भुषाललाई पनि कारबाहीको माग गरिएको छ ।

उनले पत्रकारमाथि आक्रमण गर्नेलाई बचाउन आफूले जेसुकै पनि गर्न तयार भएको भन्दै पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए ।
सोमबार बिहान बसेको कोहलपुरका क्रियाशिल पत्रकारहरुको भेलाले पत्रकारको सुरक्षाको माग र कमल चलाउने पत्रकारहरुमाथी समय समयमा आक्रमणको प्रयास गर्ने क्रियाकलापका कारण पत्रकारहरु माग पुरा नभए आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छन् ।

क्रियाशिल पत्रकारहरुको भेलाले पत्रकार संगिन शर्मा माथी आक्रमण गर्ने माथी कारबाही माग, अराजक गतिविधी गर्ने युवाहरुलाई राजनैतिक दलहरुले संरक्षण गर्ने र स्थानीय सरकारँग पत्रकारको शान्ति सुरक्षा सम्वन्धमा छलफल गरि ज्ञापन पत्र बुझाएको पत्रकार निर्मल आचार्यले बताएका छन् ।

यसैबीच पत्रकार कुटपिट घटनाको विरोधमा ठकुरी पत्रकार समाज नेपालले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेकोछ । समाजका सचिव विजय मल्लद्वारा जारी प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य बुझि दोषी उपर कानूनी कारबाही गरिनुपर्ने माग गरिएकोछ । विज्ञप्तीमा भनिएको छ यो या त्यो बहानाले पत्रकारमाथि आक्रण गर्न पाईदैन, घटनामा संलग्न ब्यक्तिलाई कानूनी कारबाही नगरिए कडा आन्दोलन गरिनेछ ।