ट्रायलमै नक्कली परीक्षार्थी: ७ जना विरूद्ध मुद्दा


ट्रायलमै नक्कली परीक्षार्थी: ७ जना विरूद्ध मुद्दा

नेपालगन्ज : प्रयोगात्मक परीक्षामा परीक्षार्थीले सवारी साधन चलाउन सक्ने नसक्ने बारेमा प्रयोगात्मक विधिवाट परीक्षा लिईन्छ । नेपालमा लाइसेन्स लिन परीक्षा र ट्रायल दिइरहनु पर्ने प्रावधान यातायात व्यवस्था नियमावलीमा छ ।

सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी बिना सवारी चालक अनुमतिपत्र कुनेपनि सवारी साधन चलाउन पाईदैन । सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिनु हुदैन । यदि कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० सजाय सम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम पाँच सयदेखि दुई हजार सम्म जरिवाना गर्ने प्रावधान छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ चालक अनुमतीपत्र सम्बन्धि व्यवस्थाको दफा ४७ बमोजिम हुनुपर्ने छ । तर, बाँकेको कोहलपुरमा लाइसेन्सका लागि हुने ट्रायल परीक्षामा यसको सिधै उल्लघंन हुँदै आएको छ । यहाँका नक्कली परीक्षार्थीको बिगबिगी बढ्दै जान थालेको छ । पछिल्लो समय बाँके ट्राफिकले सात जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख पविन्द्र बम बताउँछन् ।

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाउन ईलाका प्रहरी कार्यालय कोहलपुरलाई जिम्मा दिएको छ ।

लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको भेटिएको भेरी यातायाता नेपालगन्जका निमित्त प्रमुख पूर्णबहादुर खत्री बताउँछन् । खत्रीले निमित्त जिम्मेवारी सम्हालेदेखि सवारी चालक अनुमतिपत्रका लागि बाँकेमा हरेक पटक हुने परीक्षा निश्पक्ष र कडाईका साथ अघि बढाइएको छ ।

मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्काेलाई पठाएर चलखेल गर्न थालेको उनी बताउँछन् ।

उनकाअनुसार यस्तो गलत कार्यको तत्काल रोकथाम र नियन्त्रणका लागि यातायातले अहिले दुवै परीक्षामा कडाई थालेको छ । परीक्षामा यसरी भेटिएका नक्कली परीक्षार्थीलाई कानूनी कारवाहीका लागि समेत सम्बन्धीत निकायमा पठाइएको छ । उनले भने ‘यसतर्फ सचेत रहन जरूरी छ ।’ यसरी भेटिएका नक्कली परीक्षार्थीलाई शिक्षा, स्वास्थ्य र नैतिकता बिरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्ने प्रावधान रहेको छ ।

यसै प्रावधानअनुसार कोहलपुर प्रहरीले सात जना नक्कली परीक्षार्थीका नाममा चारवटा मुद्दा बाँके प्रशासनमा दर्ता गराएको छ । ट्रयाल परीक्षा अर्काको नाममा दिएको आरोपमा सोमबार मात्रै एउटा परीक्षार्थीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ ।

चालु आर्थिक बर्षको अघिल्ला यी चार महिनामा बाँके प्रशासनमा दर्ता भएका यी चारवटा मुद्दा अहिलेसम्म पनि फैसला भइसकेका छैनन् । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा भएकाले यस्ता मुद्दा अदालतमा नजाने निमित्त प्रमुख खत्री बताउँछन् ।

कानूनी प्रावधानअनुसार यसरी नक्कली परीक्षाका हकमा मुद्दा दायर भए दश हजार नगद र एक वर्षसम्म कैद सजाय जरिवाना हुनसक्ने कानून व्यवसायी विकास आचार्य बताउँछन् ।

नक्कली परीक्षार्थीका नाममा नैतिकताको मुद्दा दर्ता भएको र कारवाहीको प्रक्रिया अघि बढेको बाँके, बर्दियाको हकमा यो पहिलो घटना हो । यसअघि यसरी मुद्दा नै दर्ता भइ फैसलाको चरणमा रहेको देखिएको छैन् ।