भोली सूर्यग्रहण लाग्दै, के गर्ने, के नगर्ने ?

सूतक भने बुधबार राति पौने ९ बजेदेखि


भोली सूर्यग्रहण लाग्दै, के गर्ने, के नगर्ने ?

File Photo

नेपालगन्ज:भोलि बिहीबार बिहान करिब पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा शुरु भइ बिहान ११ बजेर ३१ मिनेटमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्यग्रहणको सूतक भने आज राति बुधबार करिब पौने ९ देखि नै बार्नुपर्ने समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । उनका अनुसार बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण सुरु भएर १० बजेर १ मिनेटमा मध्यम रहने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ ।

विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टाअगाडिबाट भोजन गर्नुनहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

जसअनुसार बुधबार राति ८ बजेर ४२ मिनेटदेखि नै गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिकले भोजन गर्न नहुने समिति अध्यक्ष गौतम बताउँछन् । ग्रहणका समय आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

के गर्ने के नगर्ने ?
हिन्दू धर्म अनुसार आज बुधबार र भोलि बिहिबार दुई दिन औँसी तिथि परेको छ । बिहिबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्या (औँसी) का दिन विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । बुधबार नै पौषकृष्ण आमावास्या पर्ने भएकाले तीर्थ श्राद्ध गर्नुपर्ने भएपनि ग्रहणमा गरिने श्राद्ध भने बिहिबार नै गर्नुपर्ने जनाइएको छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । समितिका अनुसार तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ ।

“यसपटक प्रत्येक वर्ष नियमित पौषकृष्ण अमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ, गत मङ्सिर २८ गते शनिबार पश्चिमबाट वृहस्पति (गुरु) अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ”, अध्यक्ष गौतमले भने ।

वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन ।

यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।