नेपालगन्ज : नेपालगन्ज उपहानगरपालिकामा कोहलपुर नगरपालिकालाई जोडेर महानगरपालिका बनाउने बहस चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले महानगरपालिका बनाउनको लागि सम्भाव्यता अध्ययन समेत थालिसकेको अवस्था छ ।
प्रस्तावित लुम्बिनी प्रदेश सरकारले समेत बाँकेमा महानगरपालिका बनाउन कोहलपुर नेपालगन्ज अवधारणा अगाडि सारेको छ । तर, कोहलपुर भने महानगरपालिका बनाउनको लागि नेपालगन्जमा गाभिने पक्षमा देखिएको छैन । अहिले कोहलपुर नगरपालिकाले बैजनाथ र राप्तीसोनारी गाउँपालिकालाई मिलाएर बरु उपहानगरपालिका बनाउने तयारी गरेको छ ।
यसको लागि केही महिना अघि देखि नै अनौपचारीक रुपमा छलफल सुरु भइसकेको बताइन्छ । नेपालगन्जले महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन्, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाइरहदा कोहलपुरले भने महानगरको बहस छोडेर उपमहानगरपालिकाको बहस चलाउन सुरु गरेको हो ।
महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि बजेट समेत छुट्याइसकेको छ । महानगरको बहस सुरु भएसँगै पछिल्लो समय यहाँको राजनितिक वृत्त तातिएको छ ।
अहिले कोहलपुर नेपालगन्जमा हुने अधिकांश कार्यक्रम तथा छलफलहरुमा महानगरको बारेमा चर्चा हुने गरेको छ । कार्यक्रमहरुमा महानगरको बिषयलाई गम्भीरताका साथ उठाइन्छ । पछिल्लो समय कोहलपुरमा महानगरपालिकाको बिषयमा यहाँका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगायतका सरोकारवालाहरुले मुख खोल्न थालेका छन् ।
नेपालगन्जले महानगरको लागि कोहलपुरको साथ खोजिरहेको अवस्थामा कोहलपुर भने आफै नै उपमहानगरपालिका बनाउने तयारीमा जुटेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत महानगरको बिषयमा पछिल्लो समय चर्चा हुन थालिसकेको बताउँछन् ।
‘कोहलपुरलाई समेत मिसाएर नेपालगन्जलाई महानगर बनाउने बिषयमा पछिल्लो समय बहस भइरहेको छ’ उनले भने, ‘केही समयअघि समेत फिलिपिन्स भ्रमणको क्रममा नेपालगन्ज उपमहानगरका प्रमुख डाक्टर धवलशमशेर राणाले कोहलपुरलाई मिसाएर नेपालगन्जलाई महानगर बनाउने कुरा सुनाएका थिए ।’
उनले भने कोहलपुरलाई केही छिमेकी गाउँपालिकासँग मिसाएर कोहलपुरलाई उपमहानगरपालिका बनाउने जनताको योजना रहेको बताए । उनले स्थानीय तह खजुरा, जानकी र डुडुवालाई मिलाएर नेपालगन्जलाई महानगर बनाउन सुझाव दिएका छन् ।
उनले भने, ‘मेरो व्यक्तिगत धारणा त बैजनाथ, राप्तीसोनारी र कोहलपुर मिलाएर उपमहानगर बनाउनुपर्छ भन्ने छ ।’ यस बिषयमा आफुले धेरै ठाउँमा बोलिसकेको भन्दै नगर प्रमुख रावतले कोहलपुर नेपालगन्जसँग जोडिन नगएर र उपमहानगर बनाउने विषयमा कोहलपुरबासी जनता, अगुवा र राजनितिक दलहरुको सहकार्य आवश्यक रहेको बताए । उनीजस्तै कोहलपुरलाई नेपालगन्जमा नमिसाएर कोहलपुरलाई उपहानगरपालिका स्तरउन्नती गर्नुपर्नेमा यहाँका राजनितिक दलहरु समेत एक ढिक्का छन् ।
महानगरको लागि कोहलपुर नेपालगन्जमा नगाँभिने भन्दै उनले कोहलपुरलाई नै उपमहानगरपालिका बनाउने बिषयमा अनौपचारिक छलफल भईरहेको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बैजनाथ, राप्तीसोनारी र कोहलपुरलाई मिलाएर उपमहानगर बनाउनको लागि अनौपचारिक रुपमा छलफल भइरहेको बताए ।