‘न्यायलयले झन् पीडा थप्यो’


‘न्यायलयले झन् पीडा थप्यो’

नेपालगन्ज:उच्च अदालत तुल्सीपुर नेपालगन्जले तारिख अगाडी नै मुद्दा फैसला गरेको खुलासा भएको छ । यसले न्याय क्षेत्रको विश्वसनियतामा प्रश्न चिन्ह खडा गरेको छ ।

अदालतले पेशिका लागि पुस ७ गते तारिखमा बोलाएर ६ गते नै फैसला सुनाएको एक महिलाले खुलासा गरेकी हुन् । आफ्ना लालाबाला र छिमेकी महिला सहित तारिखका लागि गत सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्ज पुगेकी कोहलपुर नगरपालिका १२ कि शान्तीकुमारी थापाले आफुलाई दिएको समयभन्दा पहिले नै मुद्धा फैसला भएको खबर पाएकी थिइन् ।

विपक्षी कमल बहादुर शाहीले ‘देखिस त पावर’ भन्दै मुद्धा एक दिन पहिले नै फैसला भईसकेको खबर सुनाएपछि उनी छाँगाबाट खसेजस्तो भएकी थिइन् ।

हातमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट जारी भएको तारिख पर्चा समातेकी उनले पर्चामा २०७६ साल पुस ७ गते अदालतमा तारिख लिन आउनु भनी उल्लेख गरिएको बताइन् । तर, फैसला तारिख तोकिएको मिति भन्दा एक दिन पहिला नै भईसकेको थियो ।

अदालतले बाँके जिल्ला अदालतको फैसलालाई सदर गर्दै पुस ६ गते नै फैसला सुनाएको पीडितको दाबी छ । चार जनाको परिवारमा श्रीमान गुमाउनुको पीडा त छदैछ उनले भनिन् ‘न्यायलयले झन पीडा थप्यो ।’