‘आफन्त नेपाल’द्वारा डेढ सयको उद्दार
नेपालगन्ज : आफन्त नेपाल बाँकेले दोषीमाथी कानूनी कारबाहीको माग गर्दै बाँके जिल्ला अदालतमा मानव बेचबिखन तथा जवरजस्ती करणीका तीनवटा मुद्दा दायर गरेको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा संस्थाले बेचबिखनमा परी उद्धार गरेर ल्याईएका मध्ये बेचबिखनका दुई र जबरजस्ती करणीसम्बन्धी एक गरी तीनवटा मुद्दा अदालतमा दर्ता गरेको आफन्त नेपाल बाँकेका इन्चार्ज सुनिता सारू बताउँछिन् ।
संस्थाले नेपालमा मात्रै नभई भारतका विभिन्न शहरबाट समेत नेपाली नागकिरको उद्दार गरेको छ । पछिल्लो पाँच महिनामा भारतबाट उक्त संस्थाले १६ जना नेपालीको उद्दार गरिसकेको इन्चार्ज सारूले बताईन् ।
संस्थाको बाँकेस्थित कार्यालयबाट बाँके प्रशासनको सहयोगमा अहिलेसम्म तीन जना विरूद्ध मानवबेचबिखन सम्बन्धी मुद्दा बाँके अदालतमा दर्ता भइसकेको उनी बताउँछिन् ।
इन्चार्ज सारूका अनुसार आफन्त नेपालले विभिन्न नाका र भारतबाट उद्दार गरेकालाई पुनः स्थापनाका साथै मानव बेचविखन कार्यमा संलग्नको पहिचान भए त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि समेत पहल गर्दै आएको छ ।
सामाजिक सञ्जालको दुरूपयोग पनि मानव बेचबिखनको गतिलो कारण बन्दै गएको छ । जमुनाह सीमानाकामा कार्यरत आफन्त नेपाल नामक गैरसरकारी संस्थाका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक सयबढी नागरिकलाई उद्दार गरिएको छ ।
जसमा अधिकांश महिला रहेका छन् । पुरूषहरू कहिले काँही भेटिने गरेपनि धेरै महिला र केही १८ वर्षमुनिका बालबालिका समेत विभिन्न लोभ, प्रलोभनमा परी भारत जाने गरेको भेटिएको आफन्त नेपाल बाँकेका इन्चार्ज सारू बताउँछिन् ।
उनकाअनुसार संस्थाले मासिक चार सय बढी नागरिकलाई परामर्श दिएको छ । ८२ जनालाई उद्दारपछि परिवारसँग मिलन गराएको छ । कतिपय नागरिकहरू जसको घरवार छैन, आफन्त पनि छैनन् त्यस्ता व्यक्तिलाई स्वरोजगारीका लागि सीपमुलक तालिम प्रदान गरिएको छ ।
आफन्त नेपालले जमुनाह लगायतका पश्चिम नेपालका विभिन्न नाकाबाट उद्दार गरेकामध्ये ११ जना महिलालाई चितवनमा रहेको सीपमुलक तालिम केन्द्रमा पठाएको इन्चार्ज सारूले बताइन् ।
आफन्त नेपालले छोटो समयमा नै भारतका विभिन्न ठाउँबाट भारतस्थित महिला आयोग, नेपाली राजदूतावास तथा भारतका विभिन्न संघ/संस्थाको समन्वय तथा सहकार्यमा महिला तथा किशोरीको उद्दार गर्दै आएको उनले बताइन् ।
मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरूद्ध कार्यरत संस्था आफन्त नेपाल (के.आई.) ले पछिल्लो समय एक सयबढी नेपाली नागरिकको उद्दार गरेको छ । बैदेशिक रोजगारीको शिलसिलामा होस् वा विभिन्न वहानामा नेपालगन्जको जमुनाह लगायतका नाका हुँदै भारततर्फ जान लागेका नेपालीलाई उक्त संस्थाले उद्दार गर्दै आएको छ ।
प्रविधि र सञ्चारको विकाससँगै पछिल्लो समय ‘फेसबुक’ लगायतका सामिाजक सञ्जालमार्फत चिनजान गरेर मानव दलालहरूले कतिपय नागरिकहरू भारतमा लैजाने गरेको देखिएको छ ।