चिसोबाट बच्न उपमहानगरका विद्यालय बन्द


चिसोबाट बच्न उपमहानगरका विद्यालय बन्द

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले चिसो बढ्ेपछि विद्यालय बन्द गर्ने निर्णय गरेकोछ । नेपालगन्जमा आकस्मिकरुपले बढेको चिसोलाई मध्यनजर राख्दै उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो ।

चिसोका कारण विद्यालय पठनपाठनमा असहज हुनुका साथै बालबालिका चिसोबाट प्रभावित हुने भन्दै नेपालगन्ज उपमहानगरपालिकाले पुष १५ गतेदेखि १८ गते शुक्रबारसम्म उपमहानगरपालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शाखा अधिकृत राजबहादुर विष्टद्वारा जारी पत्रमा उक्त विदा दिने निर्णय भएको हो । उपमहानगरपालिकाका विद्यालय आगामी पुष २० गते आईतबारबाट पुरानै समयअनुसार सञ्चालन हुनेछ ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय बन्द गर्न दिएको निर्देशन निजि तथा आवासिय विद्यालय (प्याब्सन) नगर कमिटिले इन्कार गरेकोछ ।

नेपालगन्ज प्याब्सनका अध्यक्ष विकास बज्रचार्यले सेतोखरीसंग कुरा गर्दै भने विद्यालय बन्द गर्ने आधिकारिक जानकारी हामीले अझै पाएका छैनौं ।

उनले भने– यतिखेर प्याब्सन अन्र्तगत विद्यालयको अर्धवार्षिक परीक्षा चलिरहेकोछ । केही विद्यालयको पुष १३ गतेदेखि परीक्षा चलिरहेको छ भने केहीको पुष १६ र २० गतेदेखि परीक्षा हुनेछ । परीक्षाको अवधिमा विद्यालय बन्द गर्न नसकिने बताउदै उनले भने प्याब्सन अन्र्तगत सवै विद्यालयको परीक्षा सकिएपछि हाम्रो आफ्नै वार्षिक क्यालेण्डरअनुसार विदा दिन्छौं ।’

चिसो बढेपछि डुडुवा गाँउपालिकाले समेत गाँउपालिका अन्र्तगतका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुष १४ गतेदेखि १८ गते शुक्रबारसम्म डुडुवा गाँउपालिका अन्र्तगत सम्पूर्ण विद्यालय बन्द गरिएको संजय कुमार कर्णले जानकारी दिए ।

यस्तै केहीदिन यता नेपालगन्जमा बढेको चिसोलाई मध्यनजर राख्दै उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा निःशुल्क दाउरा वितरण गरेको छ । चिसोबाट सर्वसाधरण प्रभावित बनेपछि उपमहानगरपालिकाले दाउरा वितरण गरेको हो ।

उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा चिसोबाट बच्न निःशुल्क दाउराको व्यवस्था गराइएको छ ।