नेपालगन्ज : बाँकेमा निर्माणाधिन ४४ किलोमिटर हुलाकी सडक मध्ये ३० किलोमिटर कालोपत्रे भएको छ । पाँच किलोमिटर कलोपत्रेको तयारी अवस्थामा छ।
नेपालगन्जको पुष्पलाल चोकदेखि झगडियासम्मको २२ किलोमिटर दूरी सडक कालोपत्रे भइसकेको छ । यो दूरीको सडकको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको हुलाकी सडक कार्यालय, नेपालगन्ज बताउँछ ।
कल्भर्टमा ग्याब्लिङ (जाली भर्ने) गर्ने र सडकको वीच भागमा सेतो कलर (मार्किङ) गर्ने काममात्र बाँकी रहेको कार्यालयका इन्जिनियर रामसागर हरिजन बताउँछन् । उनकाअनुसार यस क्षेत्रमा कालोपत्रेको काम सकिएको छ । कल्भर्र्टको वरिपरी वीङवाल, ग्याविन (तारजाली), ट्राफिक साइनबोर्ड, रोड मार्किङको काम मात्र बाँकी रहेको छ ।
पुष्पलाल चोकदेखि २२ किलोमिटर सडक खण्डको ६ सय मिटर कालोपत्रे गर्न बाँकी छ । जग्गा विवादका कारण उक्त क्षेत्रमा कालोपत्रे गर्न छुटेको हुलाकी सडक निर्माण गरिरहेको गणपति कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारी बताउँछन् ।
२२ किलोमिटरदेखि ४४ किलोमिटरको दूरीमा पनि निर्माणको काम धमाधम भइरहेको उनी बताउँछन् । उक्त क्षेत्रमा भौतिक निर्माणको ७५ प्रतिशत काम पूरा भइसकेको उनले बताए ।
दोस्रो कलस्टरमा पर्ने २२ किलोमिटर सडक मध्ये आठ किलोमिटर कालोपत्रे भइसकेको बताउँदै भण्डारी पाँच किलोमिटर कालोपत्रेका लागि तयारी अवस्थामा रहेको बताउँछन् । चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले रोकिएको उनी बताउँछन् ।
कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेकोले फागुन मसान्तसम्म कालोपत्रेको काम सकिने उनले बताए । गणपति कन्स्ट्रक्सनले बर्दियामा जिम्मा पाएको १८ किलोमिटर हुलाकी सडक मध्ये १६ किलोमिटर सडक कालोपत्रे भइसकेको इन्जिनियर हरिजन बताउँछन् ।
बर्दियाको मुर्तिया–गुलरिया–भुरीगाउँ हुलाकी सडकको गुलरिया बजारमा मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । हुलाकी सडक र गणपति कन्स्ट्रक्सन वीच गुलरिया बजारमा सात मिटर चौडा सडक कालोपत्रे गर्ने सहमति भएको थियो । तर, स्थानीय प्रशासन र नगरपालिकाले १७ मिटर चौडा कालोपत्रे गर्नुपर्ने अडान लिएपछि सोही अनुसार सडक निर्माण भइरहेको छ ।
बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगे पनि सैया–भेलुनियामा पुल नबन्दा स्थानीयले सास्ती ब्यहोर्दै आएका छन् ।
गंगापुर क्षेत्रमा पर्ने दुई वटा पुल निर्माणमा ढिलाई भएपछि अहिले पनि सर्वसाधारणले सास्ती ब्यहोर्दै आएका छन् । सडकमा कालोपत्रेको काम पूरा भए पनि पुल निर्माण सम्पन्न नहुने छाँट देखिएको छ । पुल निर्माण नहुँदा निर्माण सामग्री ओसारपसारमा समस्या भएको गणपति कन्स्ट्रक्सनले बताएको छ ।