सार्वजनिक विदा नदिएको भन्दै गुरुङ्ग समुदायको असन्तुष्टि
नेपालगन्ज: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङगलबार ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरि गुरुङ्ग समुदायले नयाँ वर्ष मनाउदैछन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मगते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
तमु ल्होसारका अवसरमा नेपालगन्जमा विविध कार्यक्रम गरिँदैछ । आज विहान गुरुङ्ग समुदाय झाँकिसहित नगर परिक्रमा गरि नेपालगन्ज न्यूरोड स्थित गुम्बामा विशेष कार्यक्रम गरि मनाइदैछ ।
सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम गरिनुका साथै गुरुङ्ग समुदायका विशिष्ट ब्यक्तिहरुलाई विविध विधामा सम्मान समेत गर्ने कार्यक्रम गरिनेछ ।
यस्तै गुरुङ्ग जातीको बसोबास रहेका देशका विभिन्न ठाउँ र विदेशमा पनि यो पर्वका अवसरमा कार्यक्रम गर्ने गरिन्छ । ल्होसारका अवसरमा विभिन्न दलका शीर्ष नेताहरुले पनि गुरुङ्ग समुदायलाई शुभकामना दिएकाछन् ।
यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकाले गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् ।