कोहलपुरका तत्कालिन डिएसपी सिंहको नागरिकता नै नक्कली


कोहलपुरका तत्कालिन डिएसपी सिंहको नागरिकता नै नक्कली

नेपालगन्ज : आफूलाई प्रहरी बृत्तको डन सम्झदै चोकचोक र गल्लीमा दादागिरी गर्दै हिडेका तत्कालिन कोहलपुरका प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंह अख्तियारको फन्दामा परेका छन् । अहिले महानगरीय प्रहरी वृत बौद्धका कार्यरत डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन भएको छ ।

उनीमाथि नागरिकतामा कीर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको हो । उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भएको छ ।

रानीपोखरीले उनलाई उपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ । सिंह इन्सपेक्टर हुँदा घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाएपछि डिएसपीमा बढुवा भई महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । नागरिकतामा उमेर सच्चाएको आरोपमा हाल छानबिन भएको हो ।

उनी कोहलपुरमा रहँदापनि यहाँका व्यवसायी, ठेकेदार, दलाल, तस्करसँगको मिलेमतोमा करोडौ रकम कुम्ल्याउने काममा सक्रिय थिए । उनले गोरू तस्करदेखि यहाँका व्यवसायी समेतबाट ठूलो रकम घुस लिएको खुलेको छ । उनले नेपालगन्जमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा समेत दादागिरीशैलीमा बबाल मच्चाएका थिए ।

उनलाई आयोगले यसअघि नै कारवाहीका लागि सिफारिस गरेको थियो । तर, यस्ता उद्दण्ड व्यक्तिलाई कारवाही नगरी प्रहरी प्रधान कार्यालयले सिंहको कोहलपुरबाट काठमाडौं सरुवा गरेको थियो ।

उनले कोहलपुरमा हुँदा समाचार लेखेकै कारण नेपालगन्जका एक पत्रकारलाई कोहलपुर चौराहमा गोली ठोक्ने समेतको धम्की दिएका थिए । उनले कोहलपुरमा हुँदा दर्जनबढी मानवअधिकार हनन् गरेका थिए ।