राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालीको पहिचान र शान नेपाली ढाका टोपीमा सजिएका एक बालक । तस्वीर:सेतोखरी
नेपालगन्ज:आज टोपी दिवस । भ्रमण वर्ष २०२० सँगै नेपालमा विविध कार्यक्रम सहित उक्त दिवस मनाईदैंछ । तर, संसारमा नेपालको अर्को पहिचान बोकेको भादगाउँले कालोटोपी लोपोन्मुख अवस्थामा पुगेको छ । विगतमा कालो टोपीको प्रयोग स्वदेशमा मात्रै नभई विदेशमा पनि निकै हुने गरेको थियो । पछिल्लो समय स्वदेशमै यसको प्रयोगमा कमी आएको छ ।
प्रशासनिक क्षेत्रकाले बढी प्रयोग गर्ने भादगाउँले टोपीको चलनचल्ती बारे कुनै लिखित ईतिहास छैन् । तर, मल्लकालीन राजा जयस्थिति मल्लले जात विभाजन गर्दा भक्तपुरकै एउटा छुट्टै जातलाई टोपी बनाउने जिम्मा दिएको संस्कृतिविद् प्राडा पुरूषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
भादगाउँले टोपी बनाउने नेपालमै भक्तपुरमा एउटै मात्र थर ‘चुल्याध्यो’ रहेको छ । तर, बढ्दो बेरोजगारीका कारण (चुल्याध्यो) यो थरबाहेक अन्य थरकाले पनि विगतमा यो पेसा अँगाल्दै आएका थिए ।

विशेषगरी भादगाउँले टोपी बनाउने बस्ती भनेर भक्तपुर नगरको सूर्यमढी, तौलाछें, भोलाछें र गछें आदि टोललाई लिन सकिने जानकारहरू बताउँछन् । तर, पछिल्लो समय यी क्षेत्रकै बासिन्दाले भादगाउँले टोपीको प्रयोग गर्न छोडिसकेका छन् ।
संयुक्त राष्ट्रसंघमा राष्ट्रिय पहिचान दर्ता गराउँदा आफूलाई नेपाली भनेर चिनाउन नेपालले रञ्जना लिपी तथा नेपाल भाषा प्रस्तुत गर्नुका साथै नेपाली पोसाकका रूपमा दौरा सुरुवाल र शिरमा भादगाउँले टोपीसमेत प्रस्तुत गरेको संस्कृतिविद् श्रेष्ठ बताउँछन् । त्यसको आधारमा त्रिभुवनले आफ्नो पालामा ५० पैसा दरको सिक्कामा सर्वप्रथम भादगाउँले टोपी लगाएर मुद्रा निकालेका थिए । जुन अहिले दुर्लभ भइसकेको उनी बताउँछन् ।
भादगाउँले टोपी संसरामा नेपालको चिनारी हो । जसले गर्दा कुनै पनि नेपाली नागरिक संसारको कुनै कुना काप्चामा पुगे पनि नेपाली भनेर चिनिने एउटै मात्र राष्ट्रिय पोसाक दौरा सुरुवाल हो । त्यो दौरा सुरुवालको सबैभन्दा माथिल्लो शिरमा बस्ने भादगाउँले टोपी भएको जानकारहरूको भनाइ छ ।
अहिलेको समयमा यस पेसाबाट जीवन निर्वाह गर्न निकै कठिनाइ भोग्नुपरेको भादगाउँले टोपी बनाउने पेसा अँगाल्दै आएका व्यवसायीहरू बताउँछन् । यो टोपी बनाउन मेहनत धेरै गर्नुपर्ने भएपनि ज्याला कम भएकाले जीवन निर्वाहमा समस्या हुँदै आएको छ ।

महँगो कच्चा पदार्थ र उचित बजार व्यवस्थापनको कमीले भादगाउँले टोपी बनाउने व्यवसाय लोप हुँदै गएको व्यवसायीहरू बताउँछन् । देशकै पहचिान झुन्डिएको भादगाउँले कालोटोपीको संरक्षण प्रबद्र्धनका लागि सरकारले समेत पछिल्लो समय कुनै चासो नदेखाएको व्यवसायीहरू बताउँछन् ।
राजा महेन्द्रको पालासम्म कुनै पनि नेपाली नागरिक सिंहदरबारभित्र छिर्न भादगाउँले टोपी अनिवार्य रूपमा लागाउनुपर्ने नियम थियो । तर, त्यो नियम अहिले निष्क्रिय भइसकेको छ । बाक्लो कालो कपडाले निकै मेहनतका साथ बनाउने यो भादगाउँले टोपीले मानिसको टाउकोलाई समेत रक्षा गर्ने गुण रहेको व्यवसायी बताउँछन् । तर, आधुनिकताको नाममा आफ्नो राष्ट्रियता झल्काउने टोपीलाई त्यागेर विदेशमा निर्मित अन्य विभिन्न टोपीहरू लगाउने प्रवृत्तिले देशभित्रकै एउटा समुदायको रोजी रोटी गुम्ने अवस्थामा पुगेको छ ।